वीरगन्ज नाकाबाट हुने हवाई इन्धन र ग्यासको आयात घट्यो

सोमबार, २१ साउन, २०८१
डिजिटल संस्करण

देशको प्रमुख व्यापारिक नाका वीरगन्ज हुँदै आयात गरिने खाना पकाउने एलपिजी ग्यास र हवाई इनधनमा कमी आएको छ । गत आर्थिक वर्षमा वीरगन्ज नाकाबाट खाना पकाउने ग्यासको आयातमा ४ प्रतिशत र हवाई इन्धनको आयातमा ७१ प्रतिशतले कमी आएको हो ।

आव ०७९/० मा वीरगन्ज नाका प्रयोग गरी  ३३ अर्ब १३ करोड रुपैयाँबराबरको दुई लाख ९० हजार दुई सय ८७ मेट्रिकटन खाना पकाउने ग्यास आयात गरिएको बताउँदै वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी रघुलाल कर्णले गत आवमा ३० अर्ब रुपैयाँको दुई लाख ६७ हजार ४८ मेट्रिकटन ग्यास आयात भएको जानकारी दिए । उनका अनुसार ११ हजार दुई सय ३८ मेट्रिकटन कम ग्यास आयात भएको हो ।

भन्सार कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार अघिलो आवमा वीरगन्ज नाकाबाट १७ अर्ब ३१ करोड रुपैयाँको पाँच लाख ९७ हजार एक सय ४४ किलोलिटर (केल) हवाई इन्धन आयात भएकामा गत आवमा १८ अर्ब २१ करोड रुपैयाँको एक लाख ७३ हजार चार सय ८४ केल आयात भएको छ । 

सूचना अधिकारी कर्णले खाना पकाउने ग्यास र हवाई इन्धनको आयातमा संकुचन देखिए पनि नेपालमा सबैभन्दा बढी इन्धनका रूपमा उपयोग हुने डिजेल र पेट्रोलको आयात भने बढेको बताए । वीरगन्ज नाकाबाट आव ०७९/८० को तुलनामा गत आवमा डिजेल ४ प्रतिशत र पेट्रोलको आयात २ प्रतिशतले बढेको उनले जानकारी दिए ।

आव ०७९/८० मा एक खर्ब १३ अर्ब ५८ करोडको १० लाख ४० हजार पाँच सय ६ केल डिजेल र ३८ अर्ब २४ करोडको तीन लाख ८९ हजार सात सय ११ केल पेट्रोल आयात भएको जनाउँदै गत आवमा एक खर्ब नौ अर्ब २९ करोडको १० लाख ८३ हजार पाँच सय २० केल डिजेल र ३९ अर्ब दुई करोडको तीन लाख ९४ हजार सात सय २३ केल पेट्रोल आयात भएको सूचना अधिकारी कर्णले जानकारी दिए । उनका अनुसार नेपालका लागि आवश्यक ७० प्रतिशत इन्धनको आयात वीरगन्ज नाकाबाट हुने गरेको छ । – रासस

सुझावित समाचार