बिमा रकमका लागि आफ्नै पसलमा आगजनी

दुईजना पक्राउ, आगो लगाउनु एक महिनाअघि नै पसलको बिमा

सोमबार, २१ साउन, २०८१
डिजिटल संस्करण

बिमाको रकम लिन आफ्नै पसलमा आगजनी गरेको आरोपमा पोखराबाट दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पसल सञ्चालक पोखरा महानगरपालिका– १७ ड्यामसाइड बस्ने वर्ष ३६ का सुजन गहतराज र पोखरा– १७ बिरौटा बस्ने वर्ष ४३ का पवन नेपाल रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनकुमार थापाले जानकारी दिए ।

पोखरा– ६ नारेश्वरचोकस्थित डा. थानेश्वर पहारीको घर भाडा लिई सुजनले मुक्तिनाथ सपिङ सेन्टर सञ्चालन गर्दै आएका थिए । पसलमा १६ साउनको बिहान २ः१० बजे आगलागी भएको भन्ने सूचना प्राप्त भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयले दमकलको सहायतामा आगो नियन्त्रणमा ल्याएका थिए । घटनापछि सञ्चालक सुजनले प्रहरीसँगको प्रारम्भिक बयानका क्रममा आफूले पसलमा नयाँ इन्भर्टर जडान गरेको र सोही इन्भर्टरको वाइरिङ सर्ट भई आगो लागेको बताएका थिए । त्यसपछि प्रहरी टोलीले इन्भर्टर सप्लाई गर्ने व्यक्तिसँग बुझेको थियो । 

इन्भर्टरबाट आगो नलाग्ने, बरु जोड्ने क्रममा बिग्रन सक्छ भन्ने जवाफ पाएपछि प्रहरीले विद्युत् प्राधिकरणसँग जानकारी मागेको थियो । विद्युत्बाट पनि कुनै कैफियत नरहेको भन्ने जवाफ प्रहरीले प्राप्त गरेको थियो । अनुसन्धानका क्रममा पसलमा आगो लागेको एक महिनाअघि २५ असारमा सुजनले हिमालयन एभरेस्ट इन्स्योरेन्सबाट पसलको दुई करोड १० लाखबराबरको बिमा गरेको पाइयो । आगो लागेको भोलिपल्ट १७ साउनमा उनले सपिङ सेन्टरमा आगो लागेको विषयमा थप अनुसन्धान गर्न वडा प्रहरी कार्यालय बैदाममा निवेदन दिएका थिए । सोही दिन उनले बिमा दाबीका लागि इन्स्योरेन्स कम्पनीमा निवेदनसमेत दिएको खुलेको छ ।

साथीको सहयोगमा यसरी लगाएका थिए पसलमा आगो
प्रहरीका अनुसार आफ्नो साथी पवन नेपालको सहयोगमा सुजनले पसलमा आगो लगाएको तथ्य खुलेको छ । पसलमा आगो लगाउने पूर्वयोजना बनाएका उनले आफ्नो ग.३च ६२६६ नम्बरको गाडीमा स्प्रिटको ग्यालेन राखेका थिए । १६ साउन राति ११ बजे उनले पवन नेपाललाई बोलाएर ड्यामसाइडस्थित फेवा झिर रेस्टुरेन्टमा पाँच बोतल बियर पिएका थिए । त्यसपछि दुवैजना गाडीमा पसलमा पुग्छन् ।

१०–१५ मिनेटपछि बाहिर निस्किएर सुजन सटर लगाई हतार–हतार गाडी चढी तालबाराही स्कुलतर्फ लाग्छन् । नेपाल भने पसलको बाहिरपट्टि बसेका हुन्छन् ।सुजन पसलबाट हिँडेको करिब केही क्षणमै बाहिर बसेका नेपालले सलाई बाली आगो सल्काई सुजनको गाडीको पछि–पछि कुदेको उनीहरूले प्रहरीलाई बताएको प्रमुख थापाले जानकारी दिए ।

प्रहरीका अनुसार सुजनले बिमाको रकमका लागि पवन नेपालसँग मिली योजना बनाई आगो लगाएको साबिती भनाइ र नेपालले गत वर्ष आफूले सञ्चालन गरेको पोल्ट्री फार्ममा आगो लागेपछि इन्स्योरेन्स कम्पनीबाट ३१ लाख पाएको बताएको उनको भनाइ छ । पक्राउ परेका दुवैजनालाई आपराधिक उपद्रव गर्न नहुने शीर्षकमा मुद्दा दर्ता गरी कास्की जिल्ला अदालतवाट आइतबार सात दिन म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

सुझावित समाचार