रातमा निदाउन र दिनमा चैनसँग बस्न सक्दैनन् स्थानीय
उत्तर–पूर्वतर्फको आकाशमा कालो बादल मडारिनेबित्तिकै राप्तीसोनारी गाउँपालिका– ७ पिप्रहवाका दुर्गाप्रसाद पाण्डेको मुटुको धड्कन बढ्छ । कालो बादलसँगै पानी पर्न थालेपछि उनको शरीरबाट चिटचिट पसिन आउन थाल्छ । न त उनलाई रातमा निद्रा छ, न दिनमा चैन नै । राप्ती नदीबाट बस्ती जोगाउन गरिएको तटबन्ध अघिल्लोपटकको बाढीले भत्काएपछि उनी मात्र नभई देउपुर्वा, खल्ला झगडिया, ननकौपुर, पिप्रहवा, कुदरबेटवा, जमुनी, गंगापुर, सोनवर्षालगायत गाउँका करिब एक हजार परिवार राम्रोसँग निदाउन सकेका छैनन् ।
राप्ती नदी नियन्त्रण गर्न निर्माण भएको तटबन्ध भत्काएर नदीले सडक कटान गरे पनि यसको रोकथामका लागि राज्यले अहिलेसम्म कुनै चासो नदिएको पाण्डेले बताए । उनले राप्ती नदीमा बाढी आए हजारौँ बिघामा लगाइएको धानमा समेत क्षति पुर्याउने बताए । ‘राज्यका निकाय र जनप्रतिनिधिहरूले गम्भीर रूपले लिएको देखिएन । बाढी गाउँ पसेर क्षति पुर्याए यसको सम्पूर्ण जिम्मेवार राज्य हुनेछ,’ उनले भने, ‘दिउँसोको समयमा बाढी आए मानवीय क्षति कम गर्न सकिएला, तर रातको समयमा आए सयौँ मानिसको हताहत हुने निश्चित छ । राज्यले वेलैमा ध्यान पुर्यावस् ।’
राप्तीसोनारी गाउँपालिका– ७ खल्ला झगडियाका रामफेरन मौर्यले राज्यले बेलैमा तटबन्ध निर्माण नगर्दा २५ गाउँका एक हजार परिवार बाढीको उच्च जोखिममा रहेको बताए । उनले बाँके १ का प्रतिनिधिसभा सदस्य सूर्यप्रसाद ढकाल, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायत विभिन्न दलका नेताले निरीक्षण गरे पनि अहिलेसम्म काम अगाडि बढ्न नसकेको भन्दै दुःख व्यक्त गरे । ‘सांसददेखि जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूले निरीक्षण गरेर फर्किनुभयो, तर अहिलेसम्म काम अगाडि बढ्न सकेको छैन । वेलैमा काम अगाडि नबढे धेरै क्षति हुने निश्चित छ,’ उनले भने ।
बाढीले तटबन्ध भत्काएर आउजाउ गर्ने सडकसमेत कटान गरेपछि राप्तीसोनारी गाउँपालिका– ७ देउपुर्वाका राजाराम बर्मालाई पनि चैन छैन । कालो बादल देख्नेबित्तिकै डर लाग्ने गरेको उनले बताए ।