राप्रपा जिल्ला अध्यक्षको भेला काठमाडौंमा जारी

शुक्रबार, १८ साउन, २०८१
डिजिटल संस्करण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ७७ वटै जिल्ला अध्यक्षहरूको दुईदिने भेला आज पनि काठमाडौंमा जारी छ।

राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले बिहीबार धुम्बाराहीस्थित एसआर बैंक्वेटमा उक्त भेलाको उद्घाटन गरेका थिए। आजको बैठकमा जिल्ला अध्यक्षबाट सम्बन्धित जिल्लाको सांगठनिक प्रतिवेदन पेस भइरहेको सो पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए।

उनले भने, ‘७७ वटै जिल्लाबाट आउनुभएका जिल्ला अध्यक्षहरूले आफ्नो जिल्लाको सांगठनिक एवं राजनीतिक प्रतिवेदन पेस गरिरहनुभएको छ । सम्बन्धित प्रतिवेदन प्रस्तुत भइसकेपछि आजै बैठक सम्पन्न हुनेछ।’

भेलामा पार्टीको समग्र सांगठनिक अवस्थाबारे गम्भीर समीक्षा गरिने, विगतका निर्वाचनमा भएका कमी–कमजोरीको समीक्षा गर्दै आगामी रणनीति तय गरिने, पार्टीले लिएका नीति, यसले पार्टीपंक्ति र जनसमुदायमा पारेको प्रभावको विश्लेषण गरिने, पार्टीको केन्द्रीय कार्यसमिति बैठकले आगामी वैशाख मसान्तसम्म स्थानीय तहको अधिवेशन गरिसक्ने लक्ष्य लिएको अवस्थामा सबै तहको अधिवेशन सम्पन्न गर्ने, ०८४ मा हुने तीन तहको निर्वाचन तयारीमा अहिलेदेखि कस्तो रणनीति तय गर्नेलगायत विषयमा पनि छलफल हुने प्रवक्ता श्रेष्ठले बताए।

उक्त भेलामा पार्टी अध्यक्ष लिङ्देनले पार्टीको नीति, विचार, सिद्धान्तलगायत रणनीति र आगामी कार्ययोजनाबारे जिल्ला अध्यक्षहरूलाई ‘ब्रिफिङ’ गर्नेछन्। पार्टीका पूर्वअध्यक्ष पशुपतिशमशेर जबरा, निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी र नेताहरूले पार्टी संगठनका विविध पक्षमा जिल्ला अध्यक्षसँग सामूहिक छलफल गर्ने कार्यक्रम रहेको सो पार्टीले जनाएको छ।

सुझावित समाचार