कोशी खोलामा आएको बाढीले नुवाकोटको तारकेश्वर गाउँपालिका– २ स्थित पिमलटारको सयौँ रोपनी धानखेत ढुबानमा परेको छ । नुवाकोट र धादिङको सीमा भएर बग्ने कोशी खोलाको बाढीले पिमलटारस्थित फाँटमा ठूलो क्षति भएको छ । त्यहाँ भर्खर रोपिएको धानखेत ढुबानमा परेको हो ।
स्थानीय किसान आरबी नेपालका अनुसार किसानले हालै रोपिएको खेत पूर्ण रूपमा बगर बनेको छ । ‘बाढी रोकिएपछि रोपो उठाउन कोसिस गरे पनि ग्रेगरसहितको बालुवा र लेदोले पुरेकाले धेरै क्षति भएको छ,’ उनले भने, ‘दुई सय रोपनी खेतलाई क्षति पुर्याउँदै अहिले खोला बगिरहेको छ भने चार सय रोपनी खेतमा लगाएको रोपो पनि पुरिएको छ ।’
बाढीको कारण स्थानीय समाजसेवी जनक ढुंगानाले व्यक्तिगत लगानीमा केही वर्षअघि निर्माण गरेको झोलुंगे पुलमा पनि क्षति भएको छ । पुलको पिलर बगाएसँगै आवागमन रोकिएको छ । स्थानीय किसान अरुण राईले व्यावसायिक रूपमा गर्दै आएको माछापोखरीमा पनि क्षति पुगेकाे छ ।
तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले बाढीबाट भएको क्षतिको लगत संकलन गरेर किसानलाई सक्दो सहयोग गर्न आफू तत्पर रहेको बताए । उनले भने, ‘प्राविधिक प्रतिवेदन र स्थलगत अनुगमन गरेर पीडित किसानलाई सहयोग गर्नेछौँ ।’