गृह मन्त्रालयका सहसचिव डा. भीष्मकुमार भुसाललाई तीन प्रश्न

बिहिबार, १७ साउन, २०८१
डिजिटल संस्करण

विमानस्थलमा भएको विमान दुर्घटना, त्रिशूलीमा भएको बस बेपत्ताजस्ता विपत्का घटनामा उद्धार किन ढिलो हुन्छ ?
यी दुवै घटनामा उद्धारमा ढिलाइ भएको होइन । विपत् उद्धारका सवालमा नेपालको अनुभव सधैँ राम्रो रहेको छ । यसलाई प्रविधियुक्त बनाई सञ्चारको स्पष्ट ‘प्रोटोकल’सहितको ‘इन्सिडेन्ट कमान्ड सिस्टम’बाट अझ प्रभावकारी बनाउन सकिन्छ । 

देश प्राकृतिक विपत्को उच्च जोखिममा भए पनि त्यसअनुसार हाम्रो उद्धार संयन्त्र तयार हुन नसकेको हो ? 
प्राकृतिक हिसाबले नै कठिन भूगोल एवं नदी प्रणाली भएकाले उद्धार संयन्त्रको परिचालनमा जटिलता हुनु स्वाभाविकै हो । धेरै किसिमका विपत्को उच्च जोखिममा रहेको हुँदा खोज तथा उद्धारका लागि सधैँ तयारी अवस्थामा रहनुपर्ने हुन्छ । हाम्रा सुरक्षाकर्मी विपत्मा परेका नागरिकको खोज तथा उद्धारमा ख्यातिप्राप्त छन् । पर्याप्त औजार या उपकरणको अभावमा पनि ज्यानको बाजी लगाएर खट्न सक्ने हाम्रा खोज उद्धारकर्मीहरूको प्रयास स्तुत्य छ । तथापि, उच्च प्रविधियुक्त औजार तथा उपकरणको अभावमा उद्धारकर्मीहरूले जोखिमयुक्त वातावरणमा काम गर्नुपर्ने अवस्था एवं बिमा, जोखिमभत्तालगायत प्रोत्साहनको अभावमा तालिमयुक्त जनशक्तिलाई टिकाइराख्न भने कठिन भइरहेको छ । 

विपत् व्यवस्थापनमा अन्य के कस्ता समस्या छन् ?
उच्च प्रविधियुक्त ‘इन्सिडेन्ट कमान्ड सिष्टम’, विभिन्न विपत्का लागि पर्याप्त पूर्वचेतावनी प्रणाली, गम्भीरखाले विपत्तिमा निर्णय लिन ‘डिसिजन थिएटर’ भन्न मिल्ने आपतकालीन कार्यसञ्चालन केन्द्र, तालिमयुक्त जनशक्ति, विपत्का क्रममा हुने क्षति घटाउन वित्तीय व्यवस्थाका साथै विपत्पश्चातका राहत, उद्धार, पुनर्निर्माण र पुनर्लाभका कार्यक्रमका लागि अधिकार, वित्तीय स्रोत र दक्ष जनशक्तिसहितको संगठनात्मक संयन्त्र हाम्रा आवश्यकता हुन् । यिनको प्राप्तिविना विपत् व्यवस्थापन प्रभावकारी बनाउन सकिँदैन । 

सुझावित समाचार