महाकाली नगरपालिका– ४ रिंगलतालनजिक प्रायः दिनहुँ भिड हुने गर्छ । बेलुकीपख महाकालीको चिसो हावाका लागि मान्छेहरूको भिड लाग्छ । नेपाल–भारत जोड्ने झोलुङे पुल पनि नजिक भएकाले पुलघाटदेखि बंगाबगड लास्कुसम्म सधैँ व्यस्त हुने गर्छ ।
त्यहीँ व्यस्त रहने रिंगलताल क्षेत्रमा शनिबार बेलुकी महाकाली नगरपालिका– १ की धनिसा कुँवर महाकालीमा हामफालेर बेपत्ता भएकी छिन् । बाटोमा चिच्याउँदै आएकी उनी एकाएक महाकाली नदीछेउ पुगिन् । पक्की तटबन्ध लगाइएको क्षेत्रबाट भित्र प्रवेश गर्दै महाकाली किनारतर्फ सोझिइन् । वरिपरि मान्छेको भिड थियो । मान्छे रमितेझैँ भए । भिडमा कोही उनले हामफाल्न लागेको मोबाइलमा भिडियो बनाउन थाले । कसैले प्रहरीलाई खबर गरिदिए । सामाजिक सञ्जालमा भाइरल भएको भिडियो हेर्दै सुरक्षाकर्मी उनलाई उद्धार गर्न नजिकै पुग्दै गर्दा धनिसा नदीमा हामफालिन् । निकैबेरसम्म त्यत्तिकै बसेकी धनिसा किन सुरक्षाकर्मी पुग्ने वेला मात्रै हामफालिन् भन्ने बहस सुरु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले प्रहरीलाई खबर आउनेबित्तिकै उद्धारका लागि गए पनि बचाउन नसकिएको बताए । ‘सुरक्षाकर्मी पुग्ने वेला धनिसा हामफालिन् । उनी महाकालीमा बेपत्ता छिन् । खोजीकार्य भए पनि बर्खाको महाकालीमा शव भेटिने अवस्था छैन । सुरक्षाकर्मीले नदी किनारमा खोजी गरे पनि भेट्टाएका छैनन्,’ उनले भने ।
प्रहरीका अनुसार धनिसाको उमेशसिंह कुँवरसँग २० भदौ ०८० मा विवाह भएको थियो । बालविवाह गरेकी कुँवर र श्रीमान्बीच ९ पुसदेखि बोलचालसमेत कम हुन थाल्यो । ५ माघमा धनिसाले बन्धक बनाएर आफूलाई श्रीमान् उमेशले बलात्कार गरेकोलगायत आरोप लगाएर प्रहरीमा निवेदन दिइन् ।
छलफलका लागि उमेशलाई प्रहरी चौकीमा ल्याउने क्रममा उनले प्रहरी जवान डम्बरबहादुर ठगुन्ना र प्रहरी हवल्दार जयबहादुर खड्कामाथि ७ माघमा चक्कु प्रहार गरेर फरार भए । उनलाई प्रहरीले २२ फागुनमा महाकाली नगरपालिका– ४ खलंगा पुलघाटबाट पक्राउ गर्यो । अनुसन्धान भइरहेका वेला कुँवर २८ फागुनमा जिल्ला प्रहरी कार्यालयको हिरासतबाटै भाग्न खोजे । प्रहरीले बयान लिने क्रममा उनी जिल्ला प्रहरीको पर्खाल नाघेर महाकाली नदीतर्फ हामफालेर भागे । उनलाई रोक्ने क्रममा प्रहरी जवान सोहन चौधरीको मृत्यु भयो । कुँवरलाई महाकाली नदीबाटै प्रहरीले नियन्त्रणमा लियो ।
प्रहरीले सरकारी वकिल कार्यालयमार्फत १६ चैतमा अपहरण तथा बन्धकी, कर्तव्य ज्यान र जबर्जस्ती करणीअन्तर्गत जिल्ला अदालत दार्चुलामा मुद्दा दायर गर्यो । अदालतले कुँवरलाई १६ चैतमा पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । अहिले उनी कारागारमा छन् । श्रीमान् कारागारमा रहेका वेला धनिसाले भिडियो सन्देश प्रवाह गर्दै आफूले लगाएको आरोप गलत भएको बताएकी थिइन् । आफूहरूबीचको सम्बन्धमा आफ्नो कमजोरी रहेको स्वीकार गर्दै श्रीमान्लाई नफसाइदिन उनले भिडियो सन्देश छाडेकी छिन् । यसरी पारिवारिक रूपमा तनावमा रहेकी धनिसाले किन मृत्युवरणको प्रयास गरिन् भन्ने खुलेको छैन ।