पूर्वसचिव गोपी मैनालीको ‘विशृंखलित सपना’ लोकार्पित

आइतबार, १३ साउन, २०८१
डिजिटल संस्करण

पूर्वसचिव गोपी मैनालीले नयाँ कथासंग्रह ‘विशृंखलित सपना’ ल्याएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकूलपति बैरागी काइँलाले शनिबार राजधानीमा आयोजित समारोहमा कथासंग्रहको लोकार्पण गरे । काइँलाले वरिष्ठ समालोचक एवं निबन्धकारबाट स्तरीय कथा नेपाली वाङ्मयमा प्राप्त भएको बताउँदै कथासंग्रहमा समाजका गहन विषयवस्तुुलाई सरल ढंग प्रस्तुत गरिएको बताए ।

समालोचक प्रा.डा. लेखप्रसाद निरौलाले शब्द, संरचना, प्रस्तुुति र कथावस्तुका आधारमा मैलालीका कथा उच्चकोटिका भएको विचार व्यक्त गर्दै प्रत्येक कथामा मानवीय संवेदना र अनुुभूतिको विशिष्ट प्रस्तुुति रहेको उल्लेख गरे । समीक्षक अनिता कोइरालाले कथा मानवीय संवेदना, मनोविज्ञान, सामाजिक परिवेश, माया, तथा वात्सल्यका आधारमा उच्च श्रेणीको भएको विचार व्यक्त गरिन् ।

पूर्वमहालेखापरीक्षक टंकमणि शर्माले पूर्वप्रशासकबाट यति राम्रा कथा सिर्जना भएकोमा बधाई दिँदै सबै पूर्वप्रशासकलाई आफूले भोगे–देखेको कुरा लेखेर राष्ट्रसेवा गर्न अनुरोध गरे । वरिष्ठ कथाकार विजय चालिसेले आफू मैनालीका सबै विधाका सबै रचनाको पाठक भएको बताउँदै उनका प्रस्तुतिमा नवीनता र विशिष्ट अभिव्यक्ति रहेको पाएको धारणा राखे । प्राज्ञ दिनेशराज पन्तले मैनालीका कथा प्रवृत्तिका विविध कोणबाट प्रकाश पार्दै प्रशासनको उच्च तहमा रहेर गरेको उदाहरणीय प्रस्तुति र निष्ठा साहित्यमा पनि देखिएको बताए ।
 

सुझावित समाचार