प्रमुख प्रतिपक्ष दल माओवादी सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा निवर्तमान सरकारले गरेका काम र विकसित राजनीतिक परिस्थितिबारे जनतालाई जागृत गर्दै अगाडि बढ्ने भएको छ । कांग्रेस–एमाले सत्तागठबन्धन बनेसँगै केन्द्र र प्रदेशमा प्रतिपक्षमा पुगेको माओवादीले संकल्पसहित योजना तय गरेर जनतामा जाने तयारी गरेको हो ।
संकल्पसहितको योजना तय गर्न माओवादीले शुक्रबार केन्द्रीय कार्यालयको बैठक बोलाएको छ । कार्यालय बैठकपछि स्थायी समिति र केन्द्रीय समिति बैठक बस्नेछ । त्यसपछि केन्द्रीय निकायहरूको बैठक र जनवर्गीय संगठनहरूको भेला/सम्मेलन गर्दै एकताबद्ध भएर जनतामा जाने तयारी माओवादीको छ ।
‘अब फेरि सरकार भन्नेतिर हाम्रो ध्यान छैन । अब जनतामा जानेछौँ र जनतालाई जागृत गर्नेछौँ । प्रतिगामी कदमविरुद्ध जनतालाई साथमा लिएर सडक र संसद्बाट प्रतिवाद र प्रतिरोध गर्नेछौँ,’ नरबहादुर कर्मचारीको स्मृति दिवसका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रचण्डले भने ।
विकसित राजनीतिक घटनाक्रमलाई माओवादीले पार्टी पुनर्निर्माण, संगठन सुदृढीकरण र विस्तार गर्ने अवसरका रूपमा लिएको छ । ‘हामीलाई एउटा अवसर प्राप्त भएको छ । हाम्रो कोसिस पार्टीलाई अझ एकताबद्ध गर्ने, नीति, योजना, कार्यक्रमलाई अझ जनमुखी बनाउने र जनतामा जाने हो । पछिल्लो राजनीतिक परिस्थिति कसरी बन्यो, के भएको हो, हामी के चाहन्थ्यौँ, हामी अब के गर्छौँ भन्ने कुरा प्रस्टसँग जनतालाई भन्ने अवसर प्राप्त छ,’ उनले भने ।
संविधानमा जनताले प्राप्त गरेका उपलब्धि उल्ट्याउने खतरा पनि रहेको प्रचण्डले आंँल्याए । ‘यो गठबन्धन बडो अमूर्त र अस्पष्ट ढंगले बनेको छ । तर, जनताले त्यसलाई बुझिराखेका छन् । विगतको इतिहास पनि छ । घटनाक्रमहरू पनि छन् । संविधान मिच्ने, समानुपातिक, समावेशी प्रतिनिधित्वको प्रणालीलाई उल्ट्याउने, संघीयता जसरी स्थापित छ, त्यसलाई परिमार्जित गर्ने र पछि हटाउने खतरा छ । जसको नेतृत्वमा अहिले गठबन्धन बनेको छ, हिजो संविधान मिच्ने र संसद् विघटन गर्ने, जसलाई हामीले प्रतिगामी कदम भन्यौँ । त्यो खतरा छ । र, यो लामो संघर्षबाट प्राप्त भएका उपलब्धिमाथि प्रहार गर्ने खतरा छ,’ उनले भने ।
एजेन्डा, वर्ग र समुदायलाई समात्ने माओवादीको रणनीति छ । त्यसका लागि स्थानीय सरकारलाई पनि प्रभावकारी रूपमा परिचालन गर्ने माओवादी योजना छ । माओवादीको नेतृत्वमा १२२ स्थानीय सरकार छन् । ‘स्थानीय सरकारबाट पनि हामीले पहल लिनु छ र जनतामा जोडिएर जानु छ । मुख्य काम प्रतिगमनको खतराविरुद्ध पार्टीलाई एकताबद्ध गर्ने र जनतासँग जोडिएर जरुरी पर्दा आन्दोलनको तयारी गर्ने हो । हामी प्रतिवाद र प्रतिरोध गर्नेछौँ । जरुरी पर्यो भने जनताको साथ लिएर सडकबाट पनि हामी प्रतिवाद गर्नेछौँ,’ प्रचण्डले भने ।
प्रचण्डले सरकारबाट विजयी र बेदाग भएर निस्किएको दाबी गरेका छन् । सत्तामा गएकाहरू भने पराजित मानसिकतामा रहेको उनको दाबी छ । ‘देशभरिको प्रारम्भिक रिपोर्ट सुन्दा आमजनता र कार्यकर्तामा निराशा छैन । बरु हामी विजयी भएर निस्केका छौँ । बेदाग निक्लेका छौँ । न ओम्नी, न गिरीबन्धु, न भुटानी, हामी यस्ता कुनै दागरहित होइन, ती गतिविधिविरुद्ध संघर्ष गर्दागर्दै निस्किनुपरेको कुरा जनताले बुझेका छन्,’ प्रचण्डले भने, ‘हामीले आफ्नो कुरालाई सशक्त रूपमा संसद्मा राखेर वैचारिक, राजनीतिक र सरकारबाट गर्न सक्ने र गर्नुपर्ने कुराहरू गर्दागर्दै विजेताका रूपमा बाहिर आयौँ । जो सरकारमा गएका छन्, तपाईंहरूले हेर्नुभएको होला, उनीहरू पराजित मानसिकतामा छन् । उनीहरू रक्षात्मक र हामी आक्रामक ढंगले आफ्नो कुरा राख्ने स्थिति बनेको छ ।’