आज बिहान ११ बजेर ११ मिनेटमा पोखराका लागि उडान भर्ने क्रममा केही माथि पुगेलगत्तै सौर्य एयरको ९एन एएमई जहाज अनियन्त्रित भयो।
थोरै उचाइ लिएलगत्तै अनियन्त्रित भएको जहाज कहिले दायाँ, कहिले बायाँ कोल्टिँदै विमानस्थलको रनवेबाट पूर्वतर्फ रहेको घाँसेमैदानमा बजारियो।
त्यहाँबाट करिब दुई सय मिटर घिस्रिएको जहाज ट्याक्सी स्ट्यान्ड पार गरेपछि उछिट्टिएर एयर डाइनेस्टीको हेलिकोप्टर ह्यांगरमा ठोक्किन पुग्यो। त्यसक्रममा ह्यांगरमा रहेको कन्टेनरलाई पनि घिसार्दै पूर्वतर्फ काँडाघारीतर्फको हाइवेनजिक पुगेर पुनः बजारियो।
यसक्रम बीचमै प्लेनको ककपिटसहितको अघिल्लो भाग ह्यांगरसहित नै काँडाघारीको बाटोनजिकको खाल्डोमा बजारिन पुग्यो। प्लेनका पछिल्लो भाग भने त्यसअघि नै नजिकैको अर्कोतर्फको खाल्डोमा बजारियो । लगत्तै दुवैतर्फबाट आगो र धुँवाको मुस्लो निस्कियो।
क्षणभरमै जहाजमा रहेका १८ यात्रुको ज्यान गयो। क्याप्टेन मनीष शाक्य संयोगले बाँचे। दुर्घटनालगत्तै विमानस्थलमै रहेको उद्धार टोली केहीबेरमै घटनास्थल पुगेकाले क्याप्टेन शाक्यलाई उद्धार गरी अस्पताल पठायो।
विमानस्थलपरिसरभित्रै भएको दुर्घटनामा अन्य १८ जनाले भने ज्यान गुमाउन पुगे।