दीपक रौनियारको ‘पूजा, सर’ भेनिस फिल्म फेस्टिभलमा प्रिमियर हुने

बुधबार, ९ साउन, २०८१
डिजिटल संस्करण

प्रतिष्ठित भेनिस फिल्म फेस्टिभलमा दीपक रौनियार निर्देशित फिल्म ‘पूजा, सर’ छनोट भएको छ। विश्वकै पुरानो फेस्टिभल मानिने भेनिसको ८१औँ संस्करणमा ‘पूजा, सर’को वर्ल्ड प्रिमियर हुने भएको हो। यो फिल्म फेस्टिभलको प्रतिस्पर्धामा हुने ‘ओरिजोन्टी’सेक्सनअन्तर्गत छनोट भएको हो।

निर्माण टिमले यसअघि फिल्मको नाम ‘राजागन्ज’ राखे पनि अहिले परितवर्तन गरेर ‘पूजा, सर’ बनाएको छ। ‘पूजा, सर’मा हाइवे, सेतो सूर्य, कागबेनी, कर्माजस्ता फिल्ममा अभिनय गरेकी कलाकार आशा मग्रातीको मुख्य भूमिका छ । उनले सविन लेह्म्यान निर्देशित ‘ह्वाइट टाइगर’, मिलारेप्पा, बिएस राणाको ‘बसन्ती’लगायत थुप्रै नाटकहरूमा अभिनय गरिसकेकी छिन् । फिल्ममा महिला प्रहरी इन्स्पेक्टरको कथा समेटिएको छ।

जनकपुरमा छायांकन गरिएको फिल्ममा दयाहाङ राई, निकिता चाण्डक, ऋचा शर्मा, आरती मण्डल, गौमाया गुरुङ, विजय बराल, निरज श्रेष्ठ, पशुपति राईलगायतको पनि अभिनय छ।

दीपक रौनियार नेपाली फिल्मलाई अन्तर्राष्ट्रियकरण गर्न लागिपर्ने निर्देशकमध्येका एक हुन् । उनको फिचर फिल्म ‘हाइवे’, ‘सेतो सूर्य’ र सर्ट फिल्म ‘फोर नाइट्स’ले अन्तर्राष्ट्रिय फेस्टिभलहरूमा चर्चा कमाइसकेको छ । यसअघि उनको ‘सेतो सूर्य’ भेनिसमा ओरिजोन्टी सेक्सनमै छनोट भएको थियो।

भेनिसमा गत वर्ष फिडेल देवकोटाको ‘रेड सुटकेस’ छनोट भएको थियो। भेनिसमा पहिलोपटक नेपालबाट मीनबहादुर भामको सर्ट फिल्म ‘बाँसुल्ली’ छनोट भएको थियो। त्यस्तै, सर्ट फिल्म विधाअन्तर्गत पूजा गुरुङ र विभूषण बस्नेतको ‘दद्या’ पनि छनोट भएको थियो। निर्देशक भामको ‘कालो पोथी’ले भेनिसको ‘इन्टरनेसनल क्रिटिक्स विक’को विधामा उत्कृष्ट फिल्मको अवार्डसमेत जितेको थियो।

सुझावित समाचार