नेपाल प्रहरीका प्रवक्ता डिआइजी दानबहादुर कार्कीलाई तीन प्रश्न

बुधबार, ९ साउन, २०८१
डिजिटल संस्करण

प्रहरीमा २७ हजार जनशक्ति अपुग रहेको विवरण सार्वजनिक भयो । प्रहरीमा अत्यधिक कार्यबोझको कारण यही हो ? 

नेपाल प्रहरीमा अहिले दुई हजार ६ सय ६० स्वीकृत कार्यालय छन् । नयाँ कार्यालय स्थापनाका लागि पनि देशभरिबाट माग भइरहेको अवस्था छ । नागरिकको माग, जनसंख्याको वृद्धिले उत्पन्न गरेको अपराध र आर्थिक अपराधको तिव्र वृद्धिसँगै मौजुदा जनशक्तिबाट यी विषयको सम्बोधन गर्न कठिन हुँदै गएको छ । समाजमा बढ्दो अराजकताबीच मानव अधिकार संरक्षण गरी काम गर्नुपर्ने चुनौतीपूर्ण अवस्था छ ।  यसले पक्कै पनि प्रहरीको कार्यभार बढेको छ । त्यसैले, हामीले करिब २७ हजार जनशक्ति थप्नुपर्छ भनेका हौँ ।   

अबको समयमा धेरै जनशक्तिभन्दा प्रविधिको प्रयोगमा केन्द्रित हुनुपर्ने होइन ? 
हामीले जनशक्ति थप र प्रविधिको प्रयोगलाई सँगसँगै अघि बढाएका छौँ । जनशक्तिमार्फत हुने कतिपय कामलाई प्रविधिले प्रतिस्थापन गर्दै लैजानुपर्छ । जनशक्ति र प्रविधिको तादम्यता अनिवार्य बन्दै गएको छ । प्रहरी सेवालाई ‘फेसलेस’ बनाउँदै लैजानु जरुरी छ । अपराध अनुसन्धानमा त प्रविधि अनिवार्य हुँदै गएको छ । जनशक्ति थपसँगै संसारमा उपलब्ध प्रविधिको प्रयोग नेपाल प्रहरीको प्राथमिकतामा छ । 

प्रहरीका कैयौँ कार्यालयमा शौचालयसमेत नरहेको तथ्यांक सार्वजनिक भयो । यो भनेको प्रहरीलाई आधारभुत सेवाबाटै वञ्चित गराइनु होइन ? 
प्रहरी इकाइमा कार्यालय, ब्यारेक, मेस, शौचालय र हिरासत कक्ष आधारभूत विषय हुन् । तर, कतिपय कार्यालयमा शौचालयसमेत नभएको दुःखद अवस्था छ । प्रहरीको पनि मौलिक तथा मानव अधिकारमा ध्यान दिनुपर्छ । यो बजेट अभावकै विषय हो । तर, पछिल्ला वर्षमा प्रदेश सरकारबाट समेत भएको सहयोगले प्रहरी कार्यालयमा भौतिक प्रगति राम्रो हुँदै गएको छ । 

सुझावित समाचार