अमेरिकामा विमल सुवेदीको नयाँ नाटक ‘हिटलर आउँदै छ’

मंगलबार, ८ साउन, २०८१
डिजिटल संस्करण

विमल सुवेदीको निर्देशनमा नाटक ‘हिटलर आउँदै छ’ अमेरिकामा मञ्चन हुने भएको छ। अभिनेत्री वर्षा राउत र जोयस पाण्डेको मुख्य भूमिका रहने यो नाटक अमेरिकाको ओहायो राज्यको एक्रोनस्थित सिभिक थिएटरमा मञ्चन हुन लागेको हो।

आइतबार राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका ख्याति प्राप्त व्यक्तिहरूको उपस्थितिमा पत्रकार सम्मेलन गर्दै नाटकको बारेमा जानकारी दिइएको थियो। कार्यक्रममा आतिथ्यता ग्रहण गर्न उपस्थित तालमेजकी मेयर क्यारोल सिसिलियन किल्वेले नाटक गर्ने हिम्मतको खुलेर प्रशंसा गरेकी थिइन्। यसैगरी, भुटनिज कम्युनिटी एसोसिएसनका अध्यक्ष मनोरथ खनालले विमल सुवेदी र जोयस पाण्डेको कला क्षेत्रप्रतिको समर्पण देखेर यो कामका लागि आग्रह गरेको बताए।

कार्यक्रममा बोल्दै लेखक तथा निर्देशक विमल सुवेदीले ब्रोड्वे नाटकका लागि विश्वभर मानिएका लन्डन र अमेरिकामध्ये अमेरिकामा नाटक गर्न पाउनु आफ्नो लागि ऐतिहासिक क्षण भएको बताए। उनले भुटानबाट राजनीतिक रूपमा बलपूर्वक निष्कासन गरिएका नेपालीभाषी भुटानी, नेपाली डायस्पोरा र उनीहरूको पुस्ताले भोगेको मानसिक तथा पहिचानको संकटलाई नाटकले प्रस्तुतिको विषय बनाएको जानकारी दिए।

नाटक ‘हिटलर आउँदै छ’मा नेपालीभाषी भुटानी, नेपाली डायस्पोराको मात्र नभएर युवा पुस्ता तथा तिनका समस्यालाई पनि समेटिएको निर्देशक सुवेदीले बताए। उनले आफूसँग २० बढी देशमा नाटक मञ्चनको अनुभव रहेको बताउँदै नेपाली सभ्यता, संस्कृति, सोच, क्षमता विश्व बजारमा आफ्नो पहिचान सम्मानपूर्वक राख्न सक्ने भइसकेको बताए।

नाटकबाट ‘साघुँरो’ चलचित्रका निर्देशक जोयस पाण्डेले लेखकसँगै कलाकारको रूपमा पनि डेब्यु गर्दै छन्। जोयस पाण्डेले आफ्नो परिचय निर्देशकका रूपमा स्थापित रहे पनि आफूले कलाकारको रूपमा थुप्रै नाटक गरेको स्मरण गरे। दर्जनौँ चलचित्रमा अभिनय गरेकी वर्षा यही नाटकको तयारीका लागि केही दिनअघि अमेरिका पुगिसकेकी छिन्। 

नाटक अगस्ट २३ बाट ओहायोको एक्रोनमा मन्चन भएर यसको वर्ल्ड प्रिमियर हुनेछ। यसलाई अमेरिकाकै विभिन्न स्थानसहित विश्वका अन्य देशमा मञ्चन गरिनेछ। नाटकलाई नेपाल र भारतमा पनि मञ्चन गरिने भुटनिज कम्युनिटी एसोसिएनका उपाध्यक्ष तथा नाटकका एक पहलकर्ता आकाश खतिवडाले बताए।

अमेरिकाको ह्याप्पी होम स्टुडिओजको निर्माण रहेको नाटकमा थिएटर भिलेज नेपाल, भुटनिज कम्युनिटी एसोसिएसन एक्रोनको सहकार्य रहेको छ। साथै, यसलाई सनसाइन तेक्वान्दो एन्ड डान्स एकेडेमीलगायतका विभिन्न संघ-संस्थाहरूले सहकार्य गर्नेछन्।

नाटकको कुल लागत लगभग दुई करोड रुपैयाँ रहेको ह्याप्पी होम स्टुडियोका निर्देशक जोयस पाण्डे र कार्यकारी निर्माता राकेश भट्टराईले बताए। न्युयोर्कमा अध्यापन गराउने ताइवानका फिल्ममेकर, निर्देशक चिनआउवाउले पनि यसमा सहकार्य गरेका छन्। यस नाटकमा नेपाल, भुटान तथा अमेरिकालगायत विभिन्न देशको कलाकार तथा टेक्निकल विशेषज्ञहरू जोडिएका छन्।

सुझावित समाचार