गहताडी खोलाको डुबानमा ब्रह्मदेव बजार

आइतबार, ६ साउन, २०८१
डिजिटल संस्करण

कञ्चनपुरको उत्तरी चुरे क्षेत्र भएर बग्ने गहताडी खोलामा आएको बाढीले ब्रह्मदेव बजारसहित आसपासका गाउँबस्ती डुबानमा परेका छन्। गएरातिको भारी वर्षाका कारण गहताडी खोलाको सतह बढेर बस्तीमा पसेको भीमदत्त नगरपालिका– ९ का वडासदस्य नारायणसिंह महताले बताए।

‘अरूवेला यसरी खोलाको सतह बढ्दैन थियो,’ उनले भने, ‘यसपटक खोलाको बहाब बढेर गाउँमा उल्टिएको छ।’ ब्रह्मदेव सीमावर्ती बजारमा तीन सय पसल डुबानमा परेर व्यवसायीको लाखौँको सामान नष्ट भएको उनको भनाइ छ।

ब्रह्मदेव र खल्लामछेट्टीको बीच भएर महाकालीमा मिसिने गहताडी खोला एक्कासि उर्लिएपछि बस्ती डुबानमा पर्नुको साथै खेतीयोग्य जमिन कटान भएको छ। यस्तै भाँसी खोलाले भीमदत्त नगरपालिका– २ जनज्योति टोलदेखि भण्डारी टोल हुँदै निम्बुखेडासम्म तटीय क्षेत्रका स्थानीयका घर डुबानमा परेका छन्।

भीमदत्त नगरपालिका– १८ का वडाध्यक्ष रवीन्द्रप्रसाद देवकोटाले उत्तरी भेग र पहाडमा परेको वर्षातले भाँसी खोलामा आएको बाढीले दर्जनौँ घर डुबानमा परेको बताए। ‘यहाँ पानी परेको छैन, तैपनि खोलामा आएको बाढीले डुबान गरिसक्यो,’ उनले भने, ‘भीमदत्त– १८ निम्बुखेडा भण्डारी टोलमा पटानले चार–पाँच घर जोखिममा परेका छन्।’

भीमदत्त नगरपालिका विपत् व्यवस्थापन शाखा प्रमुख मनोज भट्टले बाढी प्रभावित क्षेत्रमा उद्धार, डुबान व्यवस्थापनका लागि एक्स्काभेटर पठाएको बताए।

सुझावित समाचार