राज्यको सार्वजनिक ऋण बढ्नुलाई कसरी हेर्न सकिन्छ ?
कुनै पनि सार्वजनिक ऋणलाई उपयुक्त ठाउँमा, उत्पादनमूलक क्षेत्रमा, पूर्वाधार विकासका क्षेत्रमा या पुँजीगत लगानीको राम्रो प्रतिफल प्राप्त हुने क्षेत्रमा परिचालन गर्न सकियो भने यो एकदम राम्रो हो । तर, अनुत्पादक क्षेत्र या चालू खर्चमा सार्वजनिक ऋण परिचालन गर्न थालियो भने यो बिल्कुलै गलत हुन्छ । सार्वजनिक ऋणमा पनि आन्तरिकभन्दा बाह्य ऋणमा बढी जोड दिनुपर्छ । किनकि, बाह्य ऋण कम सेवाशुल्क तथा ब्याजदरमा पाइन्छ । यसलाई लामो समयमा तिर्दा हुन्छ । तर, हामीकहाँ बाह्यभन्दा आन्तरिक ऋण निकै बढेर गएको छ । आन्तरिक ऋण बढ्दा बैंकहरूले गर्ने पुँजीगत लगानी संकुचित हुन्छ ।
हाम्रो जस्तो अर्थतन्त्रमा २४ खर्ब ३३ अर्बको ऋण कति स्वाभाविक हो ?
अनुपात या अंकका हिसाबले हेर्दा अहिलेसम्मको हाम्रो ऋणको अवस्थालाई अस्वाभाविक नै भन्न त मिल्दैन । तर, उत्पादन बढाउने, विकास निर्माणमा खर्च गर्ने क्षमता कमजोर भइरहेको समयमा हामीले ऋणको भार वहन गर्ने क्षमता गुमाउँदै गएका छौँ । योचाहिँ डरलाग्दो पक्ष हो ।
हाम्रो सार्वजनिक ऋणको पुँजीगत खर्चको अवस्था कस्तो छ ?
असाध्यै कमजोर छ । पहिलो त पुँजीगत बजेट नै निकै कम प्रतिशत विनियोजन गरिएको हुन्छ । त्यसबामट पनि हामीले निकै कम मात्र पुँजीगत खर्च गरिरहेका हुन्छौँ । द्विपक्षीय र या बहुपक्षीय वैदेशिक ऋण विकास, निर्माण या पुँजीगत खर्चसित जोडिएको हून्छ । तर, त्यस्तो ऋण हामीले सोचेअनुरूप प्राप्त भइरहेको छैन । यसले पनि हाम्रो पुँजीगत बजेट खर्च गर्ने क्षमता कमजोर रहेको संकेत गर्छ ।