मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिन एमालेको ह्विप

शनिबार, ५ साउन, २०८१
डिजिटल संस्करण

बागमती प्रदेश सभाको एमाले संसदीय दलले मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विपक्षमा मत दिन ह्विप जारी गरेको छ। 

एमालेले शनिबार आफ्ना सांसदहरूलाई विपक्षमा मत दिन आज ह्विप जारी गरेको एमाले बागमती प्रदेश संसदीय दलका मुख्यसचेतक मधुसुदन पौडेलले जानकारी दिए।

मुख्यसचेतक पौडेलका अनुसार विपक्षमा मतदान गर्न ह्विप जारी गरेसँगै आफ्ना सम्पूर्ण सांसदहरूलाई आइतबार बस्ने प्रदेश सभा बैठकमा अनिवार्य  उपस्थित हुन पनि निर्देशन दिएको छ। मुख्यमन्त्री जम्कट्टेलले आइतबार प्रदेश सभामा विश्वासको मत लिने कार्यक्रम छ।

माओवादी केन्द्रका शालिकराम जम्मट्टेल नेतृत्वको प्रदेश सरकारबाट एमाले बाहिरिएसँगै अल्पमतमा परेका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिन लागेका हुन्। 

यसअघि माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थनमा बनेको वर्तमान सरकारबाट एमालेले समर्थन फिर्ता लिँदै उसका मन्त्रीहरूले सामूहिक राजीनामा दिएका थिए।

केन्द्रमा दुई ठूला दलहरू कांग्रेस र एमालेबीच सत्ता-सहकार्य गर्ने सहमति भएसँगै यसको प्रभाव सम्पूर्ण प्रदेशमा परेको छ। मुख्यमन्त्री जम्कट्टेलको बाहिर्गमनसँगै बागमती प्रदेशमा पहिलोपटक कांग्रेस नेतृत्वमा प्रदेश सरकार बन्ने निश्चित भएको छ।

सुझावित समाचार