ढोरपाटन पुग्ने सडकको दुरावस्था, पर्यटकलाई सास्ती

शनिबार, ५ साउन, २०८१
डिजिटल संस्करण

यति वेला ढोरपाटन क्षेत्र हरियाली भएका छन्। उपत्यकासहित चारैतिरका पहाड र समथर मैदानमा फुलेका रंगीन फूलले आगन्तुकलाई स्वागत गरिरहेका देखिन्छन्। प्रकृतिसँग रमाउन यो याममा धेरै आन्तरिक तथा बाह्य पर्यटक ढोरपाटन पुग्ने गर्छन्। 

वर्षा सुरु भएसँगै यहाँ पुग्ने अधिकांश भागमा बाढीपहिरा र स्तरोन्नतिका कारण सडक बिग्रिँदा पर्यटकले सास्ती खेप्नुपरेको छ। ढोरपाटनको प्रवेशद्वार बुर्तिबाङ बजारबाट उकालो लाग्नासाथ पर्यटकलाई सास्ती हुने गरेको हो।

ढोरपाटन पुग्न राष्ट्रिय प्राथमिकताको योजना सालझन्डी–ढोरपाटन सडकको प्रयोग गर्नुपर्छ। यसबाहेक ढोरपाटन पुग्ने विकल्पका सडक अहिलेसम्म निर्माण भएका छैनन्। बुर्तिबाङबाट ढोरपाटन पुग्न ३२ किलोमिटर दूरी पार गर्नुपर्ने हुन्छ।

सरकारले दुई वर्षअगाडि उक्त खण्डको करिब २२ किमि सडक स्तरोन्नति गर्ने भन्दै ठेक्का लगाए पनि हालसम्म काम हुन सकेको छैन। निर्माण कम्पनीले सयममै काम नगर्दा ढोरपाटन पुग्ने पर्यटकले सास्ती खेप्नुपरेको हो। नेपालको एक मात्रै सिकार आरक्ष ढोरपाटन सदाबहार सुन्दर देखिए पनि वर्षामा यहाँ पुग्ने कतिपय पर्यटक बीचबाटोमै अलपत्र पर्ने अवस्था भएको ढोरपाटन नगरपालिका–९ का गमबहादुर पुनले बताए। 

‘यो वेला चारैतिर हरियाली हुने हुँदा धेरै पर्यटकका यहाँ पुग्न रुचाउँछन्। सडकको दुरावस्थाका कारण आगन्तुक सहज रूपमा यहाँ पुग्न सक्दैनन्। बुर्तिबाङबाट बोबाङ गाउँसम्म जसोतसो यात्रा गरे पनि त्यसभन्दा माथि यात्रा गर्न निकै कठिन छ,’ उनले भने। 

साँघुरो सडक खाल्डाखुल्डी र हिलाम्य हुँदा पर्यटकका सवारीसाधन ढोरपाटन पुग्नै सक्दैनन्। यस वेला अधिकांश पर्यटक मोटरसाइकल र जिपमा यात्रा गर्दछन्। कतिपय स्थानमा पहिरो जाने, स्तरोन्नति नहुँदा बिग्रिनेलगायत समस्याले कतिपय पर्यटक बीचबाटोमै अलपत्र पर्ने गरेका पुनले बताए। हिउँदको समयमा पनि यातायातका साधन सहज रूपमा सञ्चालन हुन नसक्ने भन्दै बर्खामा अझ बढी सास्ती हुने उनको भनाइ छ। 

ट्र्याक खुलेको लामो समय बितिसक्दा एकपटक पनि स्तरोन्नति हुन नसक्दा सबैभन्दा बढी समस्या स्थानीय र पर्यटकले भोग्नुपरेको पुनले उल्लेख गरे। 

See More On

सुझावित समाचार