बाढीसँगै बग्ने चिन्ताले निदाउन सक्दैनन् खापटोलका ६० घरपरिवार

शनिबार, ५ साउन, २०८१
डिजिटल संस्करण

मोरङको बुढीगंगा गाउँपालिका- १ खापटोलका अर्जुन ऋषिदेव र उनकी श्रीमती साबित्री ऋषिदेव हरेक साल बर्खा लाग्नेबित्तिकै पोकोपन्तुरो बाँधेर तयारी अवस्थामा बस्छन्। कतिखेर नजिकैको सिंघिया खोलामा उर्लेर बाढी आउँछ र आफूहरूलाई पनि बगाएर लैजान्छ भन्ने उनीहरूलाई सधैँ त्रास हुन्छ। 

हरेक वर्ष उनीहरू बाढी पसेपछि पोकोपन्तुरो बोकेर विस्थापित हुन बाध्य हुन्छन्। अर्जुन र उनकी श्रीमती साबित्री बाढीको कहरले दिएको दुःख सुनाउँदै भन्छन्, ‘के गर्नु हरेक चोटी बाढीले घर डुबाउँछ। यसैले ज्यान बचाउन सधैँ वर्षा लागेपछि हामी पोका बाँधेर कतिखेर भाग्नुपर्छ भनेर कुरेर बस्छौँ।’

अर्जुन र उनकी श्रीमती साबित्री मात्र हैन, खापटोलमा बस्ने ६० घरपरिवार ऋषिदेव सबै वर्षा लाग्नासाथ घरमा बाढी पस्ने त्रासले पोकापन्तुरा बाँधेर तयाारी अवस्थामा बस्ने गर्छन्। नजिकै रहेको सिंघिया खोलाको बाढीले धेरैपटक उनीहरूको घर बगाइदिएको छ। खापटोलमा फलाम पिटेर गुजारा चलाउँदै आएका अनिल लोहारको घर ६ पटक बाढीले बगाइसकेको छ। घरसँगै उनले बनाएका फलामका औजारहरू पनि बगाएर लगिदिँदा अनिलको गरिबी झन् उचाइमा पुगेको छ। ‘खोइ ! कसैले हाम्रो घर पनि बनाइदिँदैन अनि खोलामा बाँध पनि कसैले बाँधिदिँदैन। बाढीको वितण्डा सम्झँदै अनिल लोहार आक्रोश व्यक्त गर्छन्।’ 

खापटोलका मनोज ऋषिदेव सरकारले खोलामा तटबन्ध निर्माण गरिदिए खापटोल मात्र नभएर तल्लो क्षेत्रका सुकुमवासीहरूले पनि बाढीको त्रासबाट छुटकारा पाउने बताउँछन्। तर, पटक-पटक जनप्रतिनिधिहरूलाई आफूहरूले भोग्दै आएको समस्या सुनाए पनि बाँध निर्माण गर्न चासो नभएको खापटोलवासीको गुनासो छ। खापटोलमा बस्ने ऋषिदेवहरू सबै सुकुमवासी छन्। उनीहरू  सबैजना मजदुरी गरेर गुजारा चलाउँछन्। उनीहरू सबैको घर माटाका छन्। 

स्थानीय माधव कोइरालाले खापटोललाई बाढीको त्रासबाट मुक्त गराउन आफूहरूले पटक-पटक तटबन्ध निर्माणका लागि योजना माग गर्ने गरे पनि सुनवाइ नभएको बताए। उनका अनुसार सिंघिया खोलामा पाँच मिटर तारजाली लगाएर ढुंगाको तटबन्ध निर्माण गरे खापटोल बाढीको त्रासबाट मुक्त हुनेछन्। 

वडाध्यक्ष दीपक काफ्लेले बाढीको जोखिम भएको ठाउँ हो भन्ने जान्दाजान्दै दलितहरू आफैँ बस्ने गरिदिँदा उनीहरू जोखिममा पर्ने गरेको बताउँछन्। उनले खोपटोललाई बाढीको त्रासबाट मुक्त गराउन आफूले पनि पहल गरिरहेको बताए।    
 

See More On

सुझावित समाचार