रुसको एक अदालतले ‘जासुसी’ गरेको आरोपमा अमेरिकी संवाददाता इभान गेर्सकोभिचलाई १६ वर्षको कारागार सजाय सुनाएको छ।
शुक्रबार अदालतले दिएको उक्त फैसला तीन साताभन्दा धेरै गुप्त अदालती कारबाहीपछि आएको हो। यसलाई वासिङ्टनले ‘जालसाजी’ भनेको छ।
पहिला नै दोषी ठहर नगरिएसम्म कैदीहरूलाई अन्तर्राष्ट्रियस्तरमा आदान–प्रदान नगर्ने रुसको नीति छ। यसबाट सम्भावित रूपमा ३२ वर्षीय गेर्सकोभिचलाई एक सम्झौतामा अदलाबदली गर्न मार्गप्रशस्त गर्दछ।
न्यायाधीश आन्द्रेई मिनेयेभले भने, ‘उनलाई कठोर शासनको कोलोनीमा १६ वर्षका लागि कारागार सजाय सुनाइएको थियो ।’
कालो ट्राउजर र टी–सर्ट लगाएका गेर्सकोभिचले प्रतिवादीको कठघरामा उभिएर सजायप्रति कुनै प्रतिक्रिया व्यक्त गरेनन्। आफूलाई लैजाँदा उनले पत्रकार साथीहरूलाई हात हल्लाएका थिए।
आफूलाई निर्दोष बताउने वाल स्ट्रिट जर्नलका संवाददाता गेर्सकोभिच शीतयुद्धपछि रुसमा जासुसीको आरोप लगाइएका पहिलो पत्रकार बनेका छन्। उनलाई सन् २०२३ मार्चमा रुसी सहर येकातेरिनबर्गमा हिरासतमा लिइएको थियो।
उनले संयुक्त राज्य सरकारको आरोपका आधारमा करिब १६ महिना हिरासतमा बिताएका थिए । उनको रोजगारदाताले आरोपलाई मनगढन्ते भनेको छ। जर्नलका प्रकाशक अलमार लाटोर तथा प्रधानसम्पादक एम्मा टकरले एक विज्ञप्तिमा भने, ‘यो अपमानजनक, देखावटी सजाय इभानले एक पत्रकारका रूपमा आफ्नो काम गर्दा गलत तरिकाले हिरासतमा लिएको, आफ्नो परिवार र साथीहरूबाट टाढा राखेको, रिपोर्टिङ गर्न रोकेको र चार सय ७८ दिन कारागारमा बिताएपछि आएको हो ।’
प्रेस अधिकार समूह रिपोर्टर्स विदआउट बोर्डर्सले सजायलाई ‘अपमानजनक’ भन्दै गेर्सकोभिचलाई तुरुन्त रिहा गर्न आह्वान गरेको छ। वासिङ्टनले विदेशमा सजाय पाएका रुसीहरूको रिहाइलाई सुरक्षित गर्न गेर्सकोभिचलाई बार्गेनिङ चिपका रूपमा राखिएको विश्वास गरेको छ।
जुनको अन्त्यमा भएको पहिलो सुनुवाइदेखि उनको मुद्दा तीव्र गतिमा अघि बढेको छ। अभियोजन र प्रतिरक्षा टोलीले शुक्रबार आफ्नो अन्तिम तर्क दिएका थिए। रुसमा यस्तै प्रकारका अन्य मुद्दाहरूको सुनुवाइ अन्यन्त सुस्त गतिमा हुने गरेको छ। सुनुवाइका बीचमा धेरै साता र यहाँसम्म कि महिनौँ लाग्ने गरेको छ।
शुक्रबार प्रश्न गर्दा क्रेमलिनले कैदीहरूको अदलाबदलीको सम्भावनाबारे अडकलहरूमा सहभागी हुन अस्वीकार गरेको छ। (रासस/एएफपी)