एयर इन्डियाको विमान रुसमा आकस्मिक अवतरण

शुक्रबार, ४ साउन, २०८१
डिजिटल संस्करण

एयर इन्डियाको एआई–१८३ विमान प्राविधिक समस्यामा कारण रुसको क्रास्नोयार्स्क अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ।

विमान नयाँदिल्लीबाट सानफ्रान्सिस्को जाँदै थियो। विमानमा सवार सबै यात्रु तथा चालक दलका सदस्य सुरक्षित रहेको एयर इन्डियाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

विज्ञप्तिअनुसार विमानमा ‘ककपिट क्रू’ ले सामान राख्ने भागमा सम्भावित समस्या पत्ता लगाएपछि सावधानीपूर्वक अवतरण गरेको थियो।

विमानमा सवार २२५ यात्रु तथा  चालक दलका १९ सदस्यलाई थप अनुसन्धान र आगामी प्रक्रियाका लागि टर्मिनल भवनमा लगिएको विज्ञप्तिमा जनाइएको छ ।

उक्त रुसी विमानस्थलमा एयर इन्डियाको आफ्नै कर्मचारी नभएको कारण यात्रुलाई आवश्यक सहयोग प्रदान गर्न तेस्रो–पक्ष सहयोगको व्यवस्था गरी सरकारी निकाय र नियामक अधिकारीको सम्पर्कमा यात्रुलाई चाँडै सानफ्रान्सिस्को लैजान क्रास्नोयार्स्क अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः उडानको व्यवस्था गरिरहेको विज्ञप्तिमा उल्लेख छ।

एयर इन्डियाका प्रवक्ताले एयर इन्डिया यात्रु र कर्मचारीबारे चिन्तित रहेको बताउँदै सकेसम्म छिटो उडान सञ्चालनका लागि सबैको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्न हरसम्भव प्रयास गरिरहेको जनाएका छन्।

उनले एयर इन्डियामा यात्रु र चालक दलका सदस्यको सुरक्षा  प्राथमिकतामा रहेको उल्लेख गर्दै अवस्थाको मूल्यांकन गरी यात्रुलाई जतिसक्दो छिटो गन्तव्यमा  पुर्याउने व्यवस्था गर्ने बताए। (रासस/एएनआई)

सुझावित समाचार