नवनियुक्त परराष्ट्रमन्त्री राणा भन्छिन्– नेपाल प्रथम नीति अघि बढ्छ

मंगलबार, १ साउन, २०८१
डिजिटल संस्करण

नवनियुक्त परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले पञ्चशीलमा आधारित र नेपाल प्रथम परराष्ट्र नीति अघि बढाउने बताएकी छन् । सोमबार पदभार ग्रहण गरेपछि परराष्ट्र मन्त्रालयमा सञ्चारकर्मीसँग उनले भनिन्, ‘हाम्रो परराष्ट्र नीति एउटै छ– नेपाल प्रथम नीति । यसलाई मध्यनजर अघि बढ्छु ।’

उनले इतिहास, भूगोल र प्रमाणका आधारमा भारतसँगको सीमा विवाद टुंग्याउने विश्वास व्यक्त गरिन् । नेपाल–भारत सीमा विगतमा जस्तो असुरक्षित नभएको र अहिले प्रविधि, स्याटलाइटले अनुगमन सजिलो बनाएको उनको भनाइ थियो ।

कहिल्यै पराधीन हुनु नपरेको इतिहासलाई अब आउने पिँढीका लागि जोगाउन आफूले नेतृत्व लिने उनको भनाइ थियो । उनले छिमेकीसहित दौत्यसम्बन्ध भएका मुलुक, संयुक्त राष्ट्रसंघलगायतसँग सहकार्य सुदृढ गर्ने पनि बताइन् ।  

परराष्ट्रमन्त्री राणाले प्यालेस्टाइनमा हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइलगायतका कार्यमा आफू सक्रिय हुने पनि उल्लेख गरेकी छिन् । उनले रुसी सेनामा नेपालीहरूको उद्धारमा पनि आफ्नो प्राथमिकता रहने बताइन् । उनले राष्ट्रिय दिवसहरूमा बैठकको ढाँचा स्वीकृत गर्ने पहिलो निर्णय गरेकी छन् ।

सुझावित समाचार