खागदलको बेलिब्रिज बाढीले बगायो, तातोपानी भन्सारबाट छुटेका कन्टेनर अलपत्र

सोमबार, ३२ असार, २०८१
डिजिटल संस्करण

अविरल वर्षापछि बढेको ठाडोखोलाको बाढीले कोदारी राजमार्गस्थित बेलिब्रिज बगाएको छ । बाह्रबिसे नगरपालिका वडा नम्बर ३ र ५  खागदलमा नेपाली सेनाले हालिदिएको बेलिब्रिज बगाएको हो ।

बेलिब्रिज बगाएपछि तातोपानी भन्सारबाट आउने मालबाहक कन्टेनर बीचबाटोमै रोकिएका छन् । स्थानीय युथिर पौडेलले घटनास्थलबाट दिएको जानकारीअनुसार पुल बगाएपछि खागदलमा रहेका स्थानीयलाई  सुरक्षित ठाउँमा सारिएको छ । बाढीले बाह्रबिसे पलाती–बिगु जोड्ने सडकखण्ड पाँच सय मिटर कटान गरेर बगाएको छ ।

बाढीले पुलसँगै केही टहरा पनि बगाएको छ । तीन वर्षअघि आएको बाढीले धनजनको क्षति भएपछि बाह्रबिसे नगरपालिकाले उनीहरूलाई सुरक्षित स्थानमा सारेको थियो।

घटनास्थलमा बाह्रबिसे इलाका प्रहरीका जवान पुगेर थप क्षतिबाट जोगाउन आवश्यक सतर्कतासम्बन्धी काम गरिरहेको छ । बेलिब्रिज नहाल्दासम्म तातोपानी भन्सारका कन्टेनर राजधानी आउने कुनै वैकल्पिक बाटो छैन । स्थानीयलाई पनि आवतजावत गर्न समस्या भएको छ ।

सुझावित समाचार