परराष्ट्रसचिव लम्साल दिल्लीमा

बिहिबार, २८ असार, २०८१
डिजिटल संस्करण

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) का परराष्ट्रमन्त्रीहरूको दोस्रो अनौपचारिक बैठकमा नेपालबाट परराष्ट्रसचिव सेवा लम्सालले सहभागिता जनाउने भएकी छिन् ।

बैठकमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई निमन्त्रणा थियो । तर, शुक्रबार सरकारले विश्वासको मत नपाउने अवस्थासँगै पदमुक्त हुनुपर्ने अवस्थाका कारण श्रेष्ठको सट्टा परराष्ट्रसचिव लम्साल सहभागी हुने भएकी हुन् । बैठकमा सहभागी हुन परराष्ट्रका अधिकारीहरूसहित लम्साल बुधबार भारतको नयाँदिल्ली पुगेकी छिन् । 

भारतीय विदेशमन्त्री डा. एस जयशंकरले बिहीबार र शुक्रबारका लागि नयाँदिल्लीमा आयोजना गरेको बिमस्टेक विदेशमन्त्रीहरूको बैठकमा नेपालको प्रतिनिधित्व लम्सालले गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । बिमस्टेकका सबै सदस्य मुलुकका प्रतिनिधिमण्डलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सामूहिक रूपमा भेटवार्ता गर्ने पनि तय भएको परराष्ट्रद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बैठकमा नेपालबाहेक बिमस्टेकका सदस्य मुलुक भारत, भुटान, बंगलादेश, श्रीलंका, थाइल्यान्ड र म्यानमारका परराष्ट्रमन्त्री सहभागी हुनेछन् । यस वर्ष ७ जेठदेखि बिमस्टेक घोषणापत्र कार्यान्वयनमा आएको छ । बिमस्टेक परराष्ट्रमन्त्रीहरूको पहिलो अनौपचारिक बैठक (रिट्रिट) एक वर्षअघि थाइल्यान्डले बैंककमा आयोजना गरेको थियो ।
 

सुझावित समाचार