फ्रान्सको प्रधानमन्त्री पदनजिक पुगेका २८ वर्षीय बर्डेला

मंगलबार, १९ असार, २०८१
डिजिटल संस्करण

आफ्नो दल नेसनल र्याली (आरएन)ले सरकार निर्माण गर्ने मत ल्याए ‘फ्रान्सको महानता र यसप्रतिको आमविश्वास पुनर्स्थापित गर्ने’ बर्डेलाको प्रतिज्ञा, युक्रेनलाई दिँदै आएको सहयोगलाई निरन्तरता दिने घोषणा

फ्रान्सका भावी प्रधानमन्त्रीका रूपमा हेरिएका जोर्डन बर्डेला नियमित टिकटकमा भिडियो पोस्ट गर्छन् । यी उग्र दक्षिणपन्थी युवा नेता आफ्ना १३ लाख टिकटक फलोअर्ससामु प्रायः उत्साही समर्थकसँग खिचाएका भिडियो पोस्ट गर्छन् । यी भिडियोबाट उनको एक मिलनसार राजनीतिज्ञको छवि बनेको छ । खरो नेतृ मरिन ली पेनसँगै फ्रान्सको उग्र दक्षिणपन्थी पार्टी नेसनल र्याली (आरएन)को नेतृत्व गरिरहेका बर्डेला संसदीय चुनावपछि प्रधानमन्त्री बन्ने पात्रका रूपमा हेरिएको छ । दुई चरणका निर्वाचनमध्ये पहिलो चरणमा उनको पार्टीले ३४ प्रतिशत सिट जित्दै पहिलो पार्टी बनिसकेको छ । दोस्रो चरणको चुनावमा पनि उनको दलले उस्तै मत ल्याउने मतसर्वेक्षणले देखाएको छ । 

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले यही महिना सम्पन्न युरोपेली चुनावमा उनको दलको खराब प्रदर्शनपछि पूर्वनिर्धारित समयभन्दा तीन वर्षअगाडि नै निर्वाचनको आह्वान गरेपछि अहिले निर्वाचन भइरहेको हो । बर्डेलाले आफ्नो दलले सरकार निर्माण गर्ने मत ल्याए ‘फ्रान्सको महान्ता र यसप्रतिको आम विश्वास पुनर्स्थापित गर्ने’ प्रतिज्ञा गरेका छन् । आरएनको चुनावी घोषणापत्रमा अघि सारिएका योजना बर्डेलाकै भएको बताइएको छ । त्यसमा कागजातविहीन आप्रवासनलाई रोक्ने, ऊर्जा कर कटौती गरेर क्रयशक्ति बढाउने र विद्यालयमाथि राज्यको थप अधिकार प्रयोग गर्ने विषय छन् । रुसनिकट आरोप लाग्ने उनको पार्टी सरकारमा आए युक्रेनलाई दिँदै आएको सहयोग नरोकिने विश्वस्त पार्ने कोसिस गरेका छन् । तथापि युक्रेनलाई लामो दूरीको हतियार सहयोग दिने विषयको भने उनले विरोध जनाए ।

समयअघि नै चुनाव घोषणा गरेर म्याक्रोँले ठूलो जोखिम उठाएका छन् । यस चुनावको परिणामले देशभित्रका मुद्दामा कट्टर दक्षिणपन्थी प्रधानमन्त्रीको नेतृत्व रहने र विदेशी मामिला उदारवादी राष्ट्रपतिले सञ्चालन गर्ने असहज स्थिति ल्याउने सम्भावना बढेर गएको छ । बर्डेलाले आफ्नो उम्मेदवारीलाई म्याक्रोँको नेतृत्वको सात वर्षको असन्तुष्टिको ‘एक मात्र विकल्प’को रूपमा प्रस्तुत गरिरहेका छन् । 

शक्तिमा असाधारण उदय 
पेरिसको उपनगर सेइन–सेन्ट–डेनिसमा हुर्किएका बर्डेला प्रायः उनले फ्रान्सको अनियन्त्रित आप्रवासनले ल्याएको अराजकताको प्रत्यक्ष अनुभव गरेको चर्चा गर्ने गर्छन् । पेरिसको बाह्य भागमा अवस्थित अफ्रिकी मूलका फ्रेन्च नागरिकको बसोवास रहेको श्रमिक वर्गीय सो बस्तीलाई पहिलेदेखि नै दक्षिणपन्थीले दानवीकरण गर्दै आएका छन् ।

‘फ्रेन्च गणतन्त्रका यी क्षेत्रमाथि इस्लामको पकड बढ्दै गएको मैले आफैँ देखेको छु,’ उनले सन् २०२२ मा एक सभालाई सम्बोधनका क्रममा भनेका थिए, ‘मैले पनि तपाईंहरू र अरू लाखौँ फ्रान्सेली नागरिकले जस्तै आफ्नै देशमा विदेशी बन्नुको पीडा भोगेको छु ।’ इटालियन मूलका आमाबाबुको घरमा जन्मेका बर्डेलाले अर्धनिजी क्याथोलिक स्कुलमा पढे । उनी पढेको स्कुल ‘सेन्ट–डेनिस क्षेत्रमा शिक्षकहरू कुर्सी प्रहारको मार खाने डरमा बस्नु नपर्ने एक मात्र स्कुल रहेको उनले एकपटक फ्रेन्च पत्रिका ‘ले मोन्डे’सँगको अन्तर्वार्तामा बताएका थिए । अल्जेरियन आमाबाट जन्मिएका उनका पिता ओलिभर पेयपदार्थ वितरणको व्यवसाय चलाउँथे, तर उनी बर्डेला सानै हुँदा घर छाडेर गए ।

पत्रकार पियरे–स्टेफन फोर्टले लेखेको बर्डेलाको जीवनीअनुसार बर्डेलाले सन् २०१२ मा १६ वर्षको उमेरमा आरएनमा आबद्ध भएका थिए । पार्टीको सदस्य हुनका लागि उनले आफ्नी आमासँग तीन हप्तासम्म अनुनयविनय गरेका थिए । उनले भूगोलको स्नातक तहको अध्ययन छाडेर पूर्ण रूपमा राजनीतिक करिअरमा केन्द्रित भएका थिए । सन् २०१४ मा उनी सेइन–सेन्ट–डेनिस क्षेत्रका पार्टी प्रतिनिधि भए । एकजना पूर्वमित्र तथा स्थानीय पार्सद म्याक्सेन्स बुट्टीलाई निलम्बन गरेपछि पहिलोपटक बर्डेला राष्ट्रिय रूपमा चर्चामा आएका थिए । बुट्टीले इस्लाम धर्म अँगालेको घोषणापछि बर्डेलाले उनलाई बर्खास्त गरेका थिए ।

बर्डेलाको पछि फ्रेडरिक च्याटिलनकी छोरी केरिडवेन च्याटिलनसँग रोमान्टिक सम्बन्ध बस्यो । आरएनकी नेतृ ल पेनका मित्र तथा विश्वास पात्र फेडरिकले नै बर्डेलालाई पेनसँग परिचय गराएका थिए । मरिन ल पेनले बर्डेलालाई आफ्नो छत्रछायामा राखेर २१ वर्षको उमेरमै पार्टी प्रवक्ता नियुक्त गरिन् । सन् २०१९ मा उनले युरोपेली चुनावमा पार्टीको सूचीको अन्तिम निर्णय गर्ने जिम्मेवारी पाए । त्यस चुनावमा आरएनले जित हासिल गर्दै पहिलोपटक ब्रसेल्समा संसदीय सिट सुरक्षित गरेको थियो । बर्डेलाको असाधारण उदय सन् २०२२ मा जारी रह्यो, जब उनलाई ल पेनले आरएन अध्यक्ष बनाइन् । ल पेनले आगामी सन् २०२७ मा हुने राष्ट्रपति चुनावमा ध्यान केन्द्रित गर्न पार्टीको कमान युवापुस्तालाई हस्तान्तरण गरेको बताएकी थिइन् । पार्टी अध्यक्ष भएपछिको सम्बोधनमा बर्डेलाले भनेका थिए, ‘जब सत्ता हाम्रो हातमा आउनेछ, हामी आप्रवासी बोकेका माफिया सञ्चालित जहाज फ्रान्सेली बन्दरगाहमा रोक्न दिनेछौँ । हामी यो देशलाई विश्व होटेल बनाउन चाहँदैनौँ ।’

नरम व्यवहार, कठोर विचार
पार्टीको नेतृत्वमा आएपछि उनले पार्टीलाई आफ्ना पूर्ववर्तीको नश्लीय टिप्पणी तथा यहुदीविरोधी भाषाबाट टाढा राख्दै नयाँ ब्रान्डिङ गर्न थाले । यसका लागि उनले टिकटकजस्ता सामाजिक सञ्जालको भरपूर प्रयोग गरे । यस क्रममा उनले उदारवादी मतदाताको एक तप्कामा समेत पार्टीको आकर्षक छवि प्रस्तुत गर्न सफल भए । सफाचट अनुहार र नरम व्यवहारमार्फत उनले फ्रेन्च मतदातालाई उनको उग्र दक्षिणपन्थी पार्टीसमेत ‘विश्वसनीय, जिम्मेवार र फ्रेन्च संस्थाप्रति प्रतिबद्ध’ रहेको प्रस्तुत गर्दै आएका छन् ।

सामाजिक सञ्जालमार्फत युवालाई पार्टीसँग जोडेर उनले ५५ वर्षीया ल पेन र पार्टीका संस्थापक ल पेनका पिता जँ लुइस मारीको राजनीतिबाट सशंकित मतदाताको ठूलो समूहको समर्थन जुटाए । ल पेनका पिता कुनै समय नाजी ग्यास च्याम्बरलाई समेत सकारात्मक बताएको र अन्य कैयौँ जातीय घृणा फैलाउने भाषण गरेकोमा दोषी ठहर्याइएका नेता हुन् । ‘बर्डेला आरएनको आम स्वीकृति बढाउने रणनीतिको एक हिस्सा हुन् । उनको नामपछाडि ल पेन थर नजोडिनु पार्टीको विस्तारमा सहयोगी भएको छ । त्यसमाथि उनी हालसम्म कुनै विवादमा फसेका छैनन् । उनी आफूले भनाईमा सजग देखिन्छन्,’ चथम हाउसका सह–अध्ययता सेबेस्टियन मेलार्डले भने ।

बर्डेलाको नेतृत्वमा आरएनको रिब्रान्डिङ तथा पुनः प्याकेजिङ गरिए पनि यसको मूल उग्र–दक्षिणपन्थी विचारमा भने बदलाव आएको छैन । ‘उग्र वामपन्थीहरू सिमाना उन्मूलन चाहन्छन्, जसले हाम्रो देशलाई निःशस्त्र पारिदिनेछ । यसले हाम्रो सामाजिक सेवाहरू ह्वात्तै बढ्छ भने हाम्रो फ्रेन्च पहिचानमा ह्रास आउनेछ,’ बर्डेलाले एक सभामा भनेका थिए । उनको पार्टीले अपराध मुद्दा लागेका आप्रवासीलाई देश निष्कासन गर्ने, पाँच वर्ष फ्रान्समा बसोवास गर्ने ११ वर्षदेखि १८ वर्षका मानिसलाई स्वतः नागरिकता दिने व्यवस्था अन्त्य गर्ने योजना बनाएको छ । त्यस्तै पार्टीको नीतिमा समाजिक सुरक्षा योजना फ्रान्सेली नागरिकलाई मात्र प्रदान गरेर घटाउने र दोहोरो नागरिकता भएका व्यक्तिलाई रक्षा तथा सुरक्षाजस्ता ‘संवेदनशील’ जागिरमा प्रवेश नदिने विषय समेटिएको छ । पार्टीले सरकारको नेतृत्व गरेमा ‘इस्लामवादी विचारधाराविरुद्ध’ कानुन ल्याउने वाचा गरेको छ, तथापि यस योजनाबारे विस्तारमा केही भनेको छैन ।

म्याक्रोँप्रतिको आमअसन्तुष्टिको लाभ बर्डेलालाई
बर्डेलाले फ्रान्समा जन्मिने जुनसुकै बच्चाले भविष्यामा देशको नागरिकता पाउने अधिकारलाई अन्त्य गर्ने मनसाय व्यक्त गरेका छन् । तथापि यो मुद्दा संवैधानिक समीक्षामा जानका लागि जनमत संग्रहबाहेक गर्नुपर्ने विज्ञहरूले बताएका छन् । उनले विद्यालयमा ‘राज्यको अधिकार’ पुनस्र्थापना गर्न शिक्षा प्रणालीमा व्यापक सुधारको वाचा गरेका छन् । यसमा दुर्व्यवहार गर्ने विद्यार्थीलाई कडा सजाय दिने, कक्षा सञ्चालनमा बाधा पुर्याउने विद्यार्थी तथा बुलीहरूलाई नियमित कक्षाकोठाबाट निष्कासन गरी विशेष केन्द्रहरूमा पढाइने उपाय समावेश छन् । उनी विद्यालयमा मोबाइल फोन प्रतिबन्ध लगाउन चाहन्छन् । त्यस्तै उनले शिक्षकलाई गरिने सम्मानबोधक सम्बोधन र विद्यालय ड्रेसको नियम पुनः स्थापित गर्ने बताएका छन् ।

अर्थतन्त्रको सवालमा उनले महँगीलाई सम्बोधन गर्ने र ऊर्जा कर कटौती गरेर जीविकोपार्जनमा सघाउ पुर्याउने वाचा गरेका छन् । तथापि उनले यस कदमलाई निरन्तरता दिन कहाँबाट कोष जम्मा गर्नेछन् भनेर बताएका छैनन् । पार्टीले युरोपेली संघबाट फ्रान्सलाई बाहिर गर्ने तथा नेटो गठबन्धन छोड्नेलगायत केही पुराना तथा विवादास्पद अडान अहिलेका लागि त्यागेजस्तो देखिन्छ । उसले आफूलाई अहिले मुख्यतः आप्रवासीको वृद्धिबाट बढेको समस्या र म्याक्रोँप्रतिको आम असन्तुष्टिबाट फाइदा लिने कोसिस गरेको छ । यस रणनीतिले आरएनले नयाँ मतदाता कमाएको मेलार्डले बताए ।

सर्वेक्षण भन्छन्– राष्ट्रपति म्याक्रोको दल तेस्रो बन्छ
फ्रान्समा पहिलो चरणको संसदीय निर्वाचनमा अति दक्षिणपन्थी दल अगाडि देखिएको निर्वाचनपछिका सर्वेक्षणले देखाएका छन् । निर्वाचनमा अग्रता कायमसँगै दक्षिणपन्थीहरूले प्रधानमन्त्री पदको दाबी र सरकार गठन गर्र्नेे ऐतिहासिक अवसरको खोजी गरिरहेका छन् ।

प्रमुख फ्रान्सेली मतदान फर्महरू (सर्वेक्षण समूहहरू) को अनुमानअनुसार दक्षिणपन्थी नेतृ मरिन ली पेनकोे विपक्षी नेुसनल र्याली (आरएन)ले ३३ देखि ३३ प्रतिशत मत प्राप्त गरेको छ भने वामपन्थी न्यु पपुलर फ्रन्ट गठबन्धनले २८ प्रतिशत मत ल्याएको छ ।

राष्ट्रपति इमानुएल म्याक्रोँको मध्यमार्गी शक्तिले मात्र तेस्रो स्थानमा चित्त बुझाउनुपरेको छ । म्याक्रोँको मध्यमार्गी खेमाले २१ प्रतिशत मत प्राप्त गरेको छ । जुलाई ७ मा हुने दोस्रो चरणको निर्वाचनमा देशलाई बर्बादीबाट जोगाउन आफ्नो दललाई मतदान गर्न राष्ट्रपति म्याक्रोँसहितका नेताले निर्वाचन अभियानलाई सशक्त बनाउने बताएका छन् ।

तर, निर्वाचनका लागि मात्र एक हप्ताको समय रहेको छ । मरिन ली पेनले विपक्षी नेसनल र्याली (आरएन) पार्टीले नयाँ नेसनल एसेम्बलीमा पूर्ण बहुमत प्राप्त गर्ने स्पष्ट भइसकेको छैन । निर्वाचनमा जाने राष्ट्रपति म्याक्रोँको निर्णयले उनका केही सहयोगीसमेतलाई चकित पारेको थियो । निर्वाचन घोषणाले म्याक्रोँलाई आफँैमाथि मार पर्ने जोखिम देखिएको छ ।

पहिलो चरणको निर्वाचन परिणाम नउल्टिएमा यसले राष्ट्रपतिलाई आफ्नो कार्यकालको बाँकी तीन वर्षका लागि निकै कम शक्तिशाली व्यक्ति बनाउनेछ । दोस्रो चरणको निर्वाचनपछि ५७७ सदस्यीय नेसनल एसेम्ब्लीमा आरएनले बहुमत प्राप्त गर्ने मतदान एजेन्सीहरूले अनुमान गरेका छन् । तर, पूर्ण बहुमतका लागि आवश्यक पर्ने २८९ सिट पार्टीले प्राप्त गर्ने आधार स्पष्ट भइसकेको छैन ।

– अलजजिराबाट

See More On

सुझावित समाचार