बागमती नगरपालिकाका मेयर थापासँग तीन लाख धरौटी माग

शुक्रबार, ८ असार, २०८१
डिजिटल संस्करण

गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोग लागेका सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापासँग विशेष अदालतले धरौटी मागको आदेश गरेको छ।

विशेषका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले थापासँग तीन लाख रुपैयाँ धरौटी माग गरेको विशेषका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए।

थापामाथि गत २८ चैतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच करोड ३३ लाख रुपैयाँभन्दा बढी बिगो कायम गर्दै मुद्दा दायर गरेको थियो। उनले उल्लिखित रकमबराबरको सम्पत्तिको वैध स्रोत खुलाउन नसकेपछि उनीमाथि मुद्दा दायर भएको हो । 

थापा मेयरमा निर्वाचित भएको मितिदेखि उनले उक्त रकम अवैध रूपमा आर्जन गरेको अख्तियारको दाबी छ। ०७४ को असोजदेखि ०७९ माघसम्म सार्वजनिक सेवामा रहँदा थापाले उक्त रकम भ्रष्टाचारबाट आर्जित गरेको दाबी अभियोगपत्रमा छ।

मेयर थापाका साथै यस मुद्दामा जफत प्रयोजनका लागि श्रीमती रेश्मीकुमारी घिमिरे थापा, भाइ रामकुमार थापा र भाइबुहारी द्वारिका राउतलाई प्रतिवादी बनाइएको छ।

मेयरविरुद्ध गत २९ जेठमा भ्रष्टाचारको अर्को मुद्दासमेत दायर भएको छ। उनीसमेतले भरत ताल निर्माणका क्रममा ३० करोडभन्दा बढी रकम अनियमितता गरेको भन्दै मुद्दा दर्ता भएको थियो।

सुझावित समाचार