कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. राजेन्द्र अधिकारी नियुक्त भएका छन्।
कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले झापा बिर्तामोडनिवासी डा. अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले जानकारी दिए।
उनका अनुसार बैठकले मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन कोशी प्रदेश सभामा पेस गर्ने, कोशी प्रदेश सभा सदस्य भक्तिप्रसाद सिटौलालाई क्यानडा जान कूटनीतिक राहदानीका लागि प्रधानमन्त्री कार्यालयमा सिफारिस पठाउने निर्णय गरेको छ।
साथै, वित्तीय हस्तान्तरणको सम्बन्धमा सोलुखुम्बुको दुधकुण्ड नगरपालिका सोलु, खाँदबारी नगरपालिका संखुवासभा र ताप्लेजुङको फुङलिङ नगरपालिकामा आप्रवासन केन्द्र स्थापना तथा सञ्चालनका लागि पाँच लाख दुई हजारका दरले रकम पठाउने निर्णय पनि आजको बैठकमा भएको उनले जानकारी दिए।