दिक्तेलमा आजदेखि बृहत् खेलकुद, साहित्यिक, सांगीतिक तथा पर्यटन महोत्सव

सोमबार, ३१ बैशाख, २०८१
डिजिटल संस्करण

नेपाल खेलकुद प्रतिष्ठान खोटाङले आयोजना गरेको ‘बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक, सांगीतिक तथा पर्यटन महोत्सव–२०८१’ आज (सोमबार)देखि सुरु हुँदै छ।

खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन, पर्यटकीय जिल्लाको रूपमा अघि बढाउन, खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउन, सन् २०५० भित्र ओलम्पिक पदक जित्ने खेलाडी जिल्लामै उत्पादन गर्नेलगायतका उद्देश्यसहित महोत्सवको आयोजना गरिएको हो।

वैशाख ३१ गतेदेखि जेठ १० गतेसम्म सञ्चालन हुने महोत्सव सफल पार्नका लागि जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको संयोजकत्वमा मूल समारोह समिति तथा नौवटा उपसमिति गठन गरिएको छ। 

महोत्सवका लागि दिक्तेल बजार सरसफाइ, प्रवेशद्वार निर्माण, तुल तथा ब्यानर टाँगेर झकिझाउ बनाइएको छ भने विभिन्न विद्याका प्रतियोगितामा प्रतिस्पर्धा गर्न देशभरका खेलाडीहरू दिक्तेल आइपुगेका छन्। 

११ दिनसम्म सञ्चालन हुने महोत्सवको औपचारिक उद्घाटन म्याराथन धावक वैकुण्ठ मानन्धरले गर्ने आयोजक नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिएका छन्। 

महोत्सवअन्तर्गत वैशाख ३१ गतेदेखि जेठ १ गतेसम्म एथ्लेटिक्स, जेठ ३ गते राष्ट्रिय कविता लेखन प्रतियोगिता, जेठ ६ गते खुला गायन प्रतियोगिता र जेठ ८ गतेदेखि १० गतेसम्म खुला राष्ट्रिय कराँते प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ। 

एथ्लेटिक्सतर्फ आठ इभेन्टस् (विद्या)मा प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ। १२ वर्षमुनिका छात्रछात्रा र ६० वर्षमाथिका पुरुषका लागि एक–एक माइल (१६०० मिटर) दौड, आमाहरूको लागि तीन किलोमिटर दौड, १५ वर्षमुनिका छात्रछाका लागि पाँच किलोमिटर दौड, ३५ वर्षमाथिका नेता, जनप्रतिनिधि, पत्रकार, कर्मचारी र शिक्षकका लागि पाँच किलोमिटर दौड, १५ वर्षमाथिका खुला महिला–पुरुषका लागि १० किलोटिर दौड र खुला महिला–पुरुषका लागि २१.०९७ किलोमिटर हाफ म्याराथन प्रतियोगिता आयोजना गरिएको जनाइएको छ।

हाफ म्याराथनमा प्रथम, द्वितीय, तृतीय, चौथो, पाँचौँ, छैटौँ र सातौँ स्थानसम्म ओगट्न सफल महिला–पुरुष धावकलाई समान रूपले क्रमशः रु. ७५ हजार, रु. ५० हजार, रु. २५ हजार, रु. १५ हजार, रु. १० हजार, रु. सात हजार र रु. पाँच हजार पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ।

१२ वर्षमुनिका छात्रछात्रा र ६० वर्षमाथिका पुरुष, आमाहरू, १५ वर्षमुनिका छात्रछात्रा, ३५ वर्षमाथिका नेता, जनप्रतिनिधि, पत्रकार, कर्मचारी र शिक्षक तथा १५ वर्षमाथिका खुला महिला–पुरुष दौड प्रतियोगिताका विजयीलाई समेत नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने महोत्सवको व्यवस्थापकीय भूमिकामा रहेको नेपाल सितोरियो कराँते संघ खोटाङका अध्यक्ष मिलन कसजूले जानकारी दिएका छन्।

हाफ म्याराथन र दौड प्रतियोगिताका लागि रु. दश लाख २० हजार पाँच सयबराबरको नगद पुरस्कार व्यवस्था गरिएको आयोजकले जनाएको छ। एथ्लेटिक्सतर्फको प्रतियोगिता एथ्लेटिक्स परिवार नेपाल र नेपाल एथ्लेटिक्स संघसँगको समन्वय तथा सहकार्यमा सञ्चालन गरिने जनाइएको छ।

राष्ट्रिय कविता लेखन तथा गायन प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय, चौथो र पाँचौँ स्थान हासिल गर्ने प्रतियोगीलाई क्रमशः रु. ४० हजार, रु. २५ हजार, रु. १७ हजार, रु. ११ हजार र रु. सात हजार  पुरस्कारको व्यवस्था गरिएको छ। यी दुई विद्याका प्रतियोगिता खोटाङ कलाकार समाज काठमाडौं, रावा–सावा प्राज्ञिक समाज नेपाल र ट्याम्के–तुवाचुङ प्रतिष्ठान खोटाङको सहकार्यमा सञ्चालन गरिनेछ।

जेठ ६ गतेदेखि ८ गतेसम्म सञ्चालन हुने राष्ट्रिय कराँते प्रतियोगितामा सातवटै प्रदेश, सोतोकान कराँते, गोजोरियो कराँते, वादोरिया कराँते र आयोजकसहित ११ टोली सहभागी हुने प्रष्ठिानका अध्यक्ष राईले जानकारी दिए। 

दिक्तेलस्थित खोटाङ बहुउद्देश्यीय कभर्डहलमा आयोजना गरिने प्रतियोगितामा महिला–पुरुष टोली प्रथम, द्वितीय, तृतीय र चौथोले क्रमशः रु. एक लाख ११ हजार १११, रु. ५५ हजार ५५५, रु. ३३ हजार ३३३ र २२ हजार २२२ नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ।

प्रतियोगिताका उत्कष्ट महिला–पुरुष खेलाडीलाई समान रु. २२ हजार २२२ तथा उत्कृष्ट व्यवस्थापकलाई रु. ११ हजार १११ को साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । कराँते विद्याका लागि रु. दुई लाख ७७ हजार ७७६ नगद पुरस्कार व्यवस्था गरिएको आयोजकले जनाएको छ।

दिक्तेल बजारमा आयोजना गरिएको बृहत् महोत्सव अवधिभरमा करोडौँको आर्थिक कारोबार हुने अपेक्षा गरिएको उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले बताएका छन्। चन्दा संकलन तथा दाताको भरमा आयोजना गरिएको महोत्सव सम्पन्न गर्न करिब रु. ५२ लाख खर्च हुने आयोजकले जनाएको छ। 
 

See More On

सुझावित समाचार