मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण

शुक्रबार, २१ बैशाख, २०८१
डिजिटल संस्करण
मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण

फाइल तस्बिर

मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३ पक्की पुल निर्माण कार्य सम्पन्न भएको छ । जिल्लाको पूर्वी खण्डमा पर्ने आँबुखैरेनीदेखि म्याग्देको जामुनेसम्मको ४१.७ किलोमिटर दूरीमा उक्त पुल निर्माण गरिएको हो ।

दमौली, डुम्रे र आँबुखैरेनी क्षेत्रमा गरी तीन ठूला पुलको निर्माण कार्य भइरहेको आयोजनाका पूर्वी खण्डका प्रमुख श्यामकुमार यादवले जानकारी दिए। मादी नदीमा निर्माणाधीन आर्क डिजाइनको पुल छुट्टै ठेक्का भएर निर्माण कार्य अघि बढाइएको हो । ‘उक्त पुलको लम्बाइ तीन सय १५ मिटर रहेको छ,’ उनले भने, ‘पुलको हालसम्म २० प्रतिशत कार्य प्रगति भइसकेको छ ।’

उनका अनुसार पूर्वी खण्डमा हालसम्म ५७ प्रतिशत कार्य प्रगति भएको छ । पृथ्वी राजमार्ग सडकअन्तर्गत सदरमुकाम दमौली बजार क्षेत्रमा ७० घर भत्किनेछन् । त्यसमध्ये ४० जनाले मुआब्जा लिएर पनि घर भत्काउन चासो दिएका छैनन् । मुआब्जा लिन नआएका र लिएकाले समेत समयमा घर नभत्काई दिँदा दमौली बजार क्षेत्रमा सडक विस्तारका कार्य अघि बढाउन समस्या भएको उनले बताए। 

दमौली बजार क्षेत्रमा कति जनाले मुआब्जा लिए, कतिले भत्काउन थाले र कतिले मुआब्जा नलिई बसेका छन् भन्नेलगायतका विषयमा परामर्श दाताले प्रतिवेदन तयार गरिरहेको उनले बताए। ‘परामर्श दाताले प्रतिवेदन बुझाएपछि कुन विधिबाट भत्काइने हो प्रक्रिया अघि बढाइनेछ, नभत्काई सुखै छैन,’ उनले भने, ‘सदरमुकाम व्यापारिक केन्द्र भएकाले संवेदनशीलतालाई बुझेर अहिले दमौलीभन्दा दायाँबायाँका क्षेत्रमा काम गरिएको छ ।’ 

पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । पूर्वी खण्डका लागि रु. ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा ठेक्का सम्झौता भएको थियो । उक्त खण्डमा हालसम्म १८ किलाेमिटर चार लेन र नौ किलाेमिटर दुई लेन सडक कालोपत्र कार्य भएको छ । 

उक्त आयोजनाअन्तर्गत पूर्वी खण्डको सम्झौता म्याद सकिएको छ । ०८१ वैशाख २ गते सम्झौताअनुरूप म्याद सकिएपछि पुनः म्याद थपका लागि प्रक्रिया अघि बढाइएको छ । पृथ्वी राजमार्ग सडकअन्तर्गत पूर्वी र पश्चिम खण्डमा गरी दुई खण्डमा सडक विस्तार कार्य धमाधम भइरहेको छ । त्यसअनुरूप पश्चिम खण्डमा करिब २३ प्रतिशत कार्य प्रगति भएको छ ।

सुझावित समाचार