सल्यानमा डढेलोले १२ हजार हेक्टर वन स्वाहा, ४५ घरगोठ नष्ट

शुक्रबार, २१ बैशाख, २०८१
डिजिटल संस्करण

सल्यानमा एक महिनाको अवधिमा एक सय ५० बढी राष्ट्रिय वन र सामुदायिक वनमा आगलागी भएको छ। आगलागीबाट १२ हजार हेक्टरभन्दा बढी वन नष्ट भएको छ।

विभिन्न सामुदायिक वनमा लागेको आगोबाट २७ हजार बढी साना–ठूला बोटबिरुवा जलेर नष्ट भएको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ। लामो समयसम्मको खडेरी र जिल्लाको अधिकांश भूभागमा सल्ला प्रजातिको बोटबिरुवा हुँदा आगलागी बढी हुने गरेको डिभिजन वन कार्यालय सल्यानका प्रमुख जितेन्द्र महतले बताए।

महतका अनुसार उपभोक्ता, वन कर्मचारी, सेना प्रहरीको सहयोगमा जंगलमा लागेको नियन्त्रण प्रयास गरिए पनि हावाहुरी र गर्मीका कारण नियन्त्रण गर्न समस्या भइरहेको छ। वनमा डढेलो लगाएको थाहा पाए कारबाही गर्ने भए पनि लुकिछिपी लगाउने हुँदा आगो लगाउनेको पहिचान गर्न कठिनाइ भइरहेको महतको भनाइ छ।

यस्तै, जंगलमा लागेको डढेलो बस्तीमा पस्दा जिल्लाका ४५ भन्दा बढी घरगोठ जलेर खरानी भएका जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। त्रिवेणी गाउँपालिका, छत्रेश्वरी गाउँपालिका, कपुरकोट गाउँपालिका, बनगाड कुपिण्डे नगरपालिकाका विभिन्न स्थानमा गरी कम्तीमा ४५ घरगोठ जलेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भवानीप्रसाद धमलाले जानकारी दिए।

डढेलोको कारण जंगलनजिकै रहेकका बस्ती उच्च जोखममा रहेका छन्। वनमा लागेको डढेलोका कारण हालसम्म जिल्लामा लाखौँको क्षति भइसकेको छ।

See More On

सुझावित समाचार