बाँकेको नौबस्तामा आजदेखि क्षेत्रीय कारागार सञ्चालन हुँदै, पहिलो चरणमा २५२ कैदीबन्दी राखिने

बिहिबार, २० बैशाख, २०८१
डिजिटल संस्करण

बाँकेको बैजनाथ गाउँपालिका–३ नौबस्तास्थित क्षेत्रीय कारागारको बिहीबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले उद्घाटन गर्ने भएका छन् । कारागारमा पहिलो चरणमा दुई सय ५२ कैदीबन्दी राख्ने योजना रहेकोे बाँके जिल्ला कारागारका जेलर अर्जुनजंग शाहले जानकारी दिए । पहिलो चरणमा बी ब्लकमा कैदीबन्दी राख्ने उनको भनाइ छ ।

कारागारका चारवटा ब्लकलाई ए, बी, सी र डीमा विभाजन गरिएको छ । ए ब्लकमा बाल सुधारगृह सञ्चालन गरिएको छ । क्षमताभन्दा धेरै रहेका कारागारका कैदीबन्दीलाई यहाँ ल्याउने तयारी गरिएको शाहले बताए । ‘जहाँका कारागारमा कैदीबन्दी राख्न समस्या भएको छ, त्यहाँकालाई नौबस्तास्थित क्षेत्रीय कारागारमा स्थानान्तरण गर्ने तयारी छ,’ उनले भने । 

प्रत्येक युनिटको माथिल्लो तलामा बहुउद्देश्यीय सभा हल निर्माण गरिएको छ । झन्डै १० बिघा क्षेत्रफलमा एक हजार क्षमताको भौतिक संरचना निर्माण भएको छ । त्यस्तै, नेपाल प्रहरी र सशस्त्र प्रहरीको छुट्टाछुट्टै ब्यारेक, प्रशासनिक भवनलगायत संरचना निर्माण भएका छन् । ‘हजारजना अट्ने भौतिक संरचना निर्माण भएको छ, तर पहिलो चरणमा दुई सय ५२ जना मात्र राख्ने तयारी छ,’ उनले भने, ‘अन्यत्रबाट ल्याउनैपर्ने भएमा थप कैदीबन्दी राख्न सकिनेछ । त्यसको तयारी भइरहेको छ ।’

तेस्रो चरणमा १५ बेडको अस्पताल, माध्यमिक विद्यालयलगायत संरचना निर्माण गर्ने लक्ष्य छ । पाँच सयभन्दा बढी कैदीबन्दी भएको कारागारमा अनिवार्य रूपमा १५ बेडको अस्पताल सञ्चालनमा ल्याउनुपर्ने प्रावधान नयाँ कारागार ऐनमा छ । क्षेत्रीय कारागारमा कैदीबन्दीलाई सीपमूलक तालिम दिन हलको व्यवस्था गरिएको छ । कारागारको नियम उल्लंघन गर्नेलाई कष्टकर सजाय दिन अलग्गै दुईवटा अँध्यारा साँघुरा कोठा पनि बनाइएको जेलर शाहले बताए । 

जीर्ण अवस्थामा जिल्ला कारागार
विसं २००० मा निर्माण भएको जिल्ला कारागार बाँके जीर्ण छ । यहाँ क्षमताभन्दा बढी कैदीबन्दी छन् । तीन सय ५० जना अट्ने क्षमता भएको कारागारमा आठ सय ९५ कैदीबन्दी रहेका जेलर शाहले बताए । पर्याप्त ठाउँ नभएपछि कैदीबन्दी बरन्डा, भान्सा र शौचालयको छतमा समेत सुत्न बाध्य छन् । नौबस्ताको कारागार सञ्चालनमा आएपछि पनि मुद्दा फैसला नभएका, सुनुवाइका लागि अदालत लैजानुपर्ने, उपचार गराउनुपर्ने बिरामी, वृद्धवृद्धा थुनुवालाई भने नेपालगन्जस्थित पुरानै कारागारमा राख्ने सरकारको योजना छ ।

See More On

सुझावित समाचार