नवलपुरका सयभन्दा बढी वनमा आगलागी, २५ सय हेक्टर वन सखाप

जंगलको डढेलो गाउँमा सर्ने जोखिम, डढेलो नियन्त्रणमा साधनको समस्या

शुक्रबार, १४ बैशाख, २०८१
डिजिटल संस्करण

नवलपुरमा केही दिनयता सयभन्दा बढी वनमा आगलागी भएको छ । डिभिजन वन कार्यालय नवलपुरका अनुसार अहिले नवलपुरका ८० प्रतिशतभन्दा बढी सामुदायिक वन, मध्यवर्ती वन, कबुलियती वनलगायत समुदायमा आधारित वन छन् ।

तीमध्ये एक सय सामुदायिक वनमा आगलागी भएको र दुई हजार पाँच सय ५३ हेक्टरभन्दा बढी वन क्षेत्र डढेलोले सखाप भएको डिभिजन वन कार्यालय नवलपुरका वन अधिकृत शिशिर लम्सालले बताए । उनका अनुसार मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकामा रहेको वन डढेलोबाट बढी प्रभावित भएको छ ।

नवलपुरमा रहेका दुई सय नौ सामुदायिक वनमध्ये ७० मा डढेलो लागेको सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला महासंघ नवलपुरका सचिव सुशील पौडेलले बताए । चैतको दोस्रो साताबाट नवलपुरमा डढेलो लाग्न सुरु भएको हो । अहिले दैनिक सरदर १५–२० ठाउँका वनमा डढेलो लाग्ने गरेको छ ।

बढ्दो गर्मी, तातो हावासँगै डढेलो झन् बढी सल्केको देखिन्छ । कतिपय गाउँहरू जंगलको बीचमा वा जंगलनजिक रहेकाले आगो गाउँमा सर्ने जोखिम उत्तिकै रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताए । मध्यविन्दु नगरपालिका– १४ चनौटेमा जंगलको आगो गाउँमा पस्दा १२ घरगोठ जलेर नष्ट भएका थिए ।

सामुदायिक वनमा च्याउ उम्रिन्छ, किर्ना मर्छ, नयाँ पालुवा पलाउँछ भनेर डढेलो लगाउने गरेको भेटिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक रेग्मीले घटनाको प्रकृति हेर्दा मानवीय लापरबाहीले नै जंगलमा बढी डढेलो लाग्ने गरेको बताए । ‘डढेलोको मुख्य कारण मानवीय नै हो, तर मान्छे भेटिँदैन । आगो लगाएर गएको एक–दुई घण्टापछि डढेलो लागेको थाहा हुन्छ । हामी पुग्दा मान्छे कहाँ पुगिसकेका हुन्छन् । कसले लगाइदियो थाहै हुन्न,’ उनले भने ।

नवलपुरमा कावासोती नगरपालिकामा मात्रै एउटा दमकल छ । अहिले त्यो दमकललाई आगो निभाउन जान भ्याइनभ्याई भएको देखिन्छ । कावासोती आसपासको क्षेत्र र बाटोको सहज पहुँच भएको क्षेत्रमा आगलागी हुँदा नियन्त्रण गर्न दमकलको ठूलो भूमिका भए पनि ग्रामीण क्षेत्र पहाडी क्षेत्र र बाटोको सहज पहुँच नभएको क्षेत्रमा स्याउला र माटोकै भरमा आगो निभाउनुपर्ने र आगो अन्त पास हुन नदिन लाइन कोर्ने र छेक्ने गरेको भरमा आगो निभाउनुपरेको प्रहरी उपरीक्षक रेग्मी बताउँछन् ।

केही सामुदायिक वनहरूले ट्याक्टर, ट्यांकर राखेर आगो निभाउन अग्नि नियन्त्रकको रूपमा प्रयोग गरे पनि पानी नै मुख्य समस्याको रूपमा देखिने गरेको छ ।

सुझावित समाचार