सदभावनाको पर्व होली आज देशको पहाडी भेगमा उल्लाहसपूर्वक मनाइँदै छ । फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व सोमबार भने तराईमा मनाइन्छ । आफन्त मिलेर रङ, पानी खेलेर खुसी साट्ने होलीपर्वको विशेषता हो ।
काठमाडौं उपत्यकास्थित वसन्तपुरमा सामूहिक रूपमा होली खेल्ने गरिन्छ । नेपाली र विदेशीसमेत वसन्तपुरको होलीमा सहभागी हुने गरेका छन् । फागु पूर्णिमामा एक–आपसमा रङ, अबिर दलेर रमाइलो मात्र गरिँदैन नाचगान पनि गरिन्छ । बुढापाका, युवा र बालबालिका पनि हौसिएर नाचगानमा भाग लिन्छन् ।
धार्मिक कथन
हिन्दु धार्मिक कथनअनुसार युवावस्थाका कृष्णले एक दिन झुक्याएर राधाको मुहारमा रङ दलिदिएछन् । रङ लगाउँदा भागदौड भएछ । यो गतिविधि सबैले रमाइलो मान्न थालेर होलीपर्व मनाउन थालिएको किंवदन्ती छ । अर्को जनश्रुति विष्णुका भक्त प्रह्लादसँग पनि जोडिएको छ । सत्यको विजय र असत्यको नास भएको उत्सवका रूपमा होलीपर्व मनाइने गरिएको मानिन्छ ।
होलीपर्व सभ्य र व्यवस्थित बनाउन जिल्ला प्रहरी परिसर काठमाडौंले सुरक्षा संयन्त्रलाई बलियो बनाएको छ ।