इलाममा किबी उत्पादन बढ्यो

शनिबार, ३ चैत, २०८०
डिजिटल संस्करण

सन्दकपुर गाउँपालिका–३ का तारामणि सापकोटाले ४० रोपनी क्षेत्रमा किबी खेती गर्दै आएका छन्। सापकोटाले सुरुमा लगानी धेरै भए पनि दिगो फाइदा लिन सकिने र बजार अभाव नहुने भएकाले किबी खेतीमा लागेको बताए।

‘किबीमा लगानी गर्दा फाइदा हुने बुझेपछि घरमै बिरुवा उत्पादन गरी किबी खेती सुरु गरेको हुँ,’ उनले भने। सोही वडाका अर्का किसान देवेन्द्र सुवेदीले अलैँची उत्पादन हुने पाँच रोपनी क्षेत्रमा किबी खेती गरेका छन्। ‘अलैँचीको विकल्पका रूपमा किबी खेती विस्तार गरेको छु,’ उनले भने, ‘अलैँचीमा विभिन्न रोग लाग्ने र मूल्यमा उतारचढाव हुन थालेपछि विकल्पमा किबी खेती गरेको हुँ।’ 

किबी प्रतिकिलो रु. सयदेखि रु. दुई सय ५० सम्म बिक्री हुने गरेको सन्दकपुर गाउँपालिका–५ जमुनाका किसान युवराज भट्टराईले बताए। ‘यहाँ उत्पादन गरिएको किबी बेच्नका लागि बजारको समस्या छैन। व्यापारीहरूले बगानबाटै ग्रेडिङ गरी प्रतिकिलो रु. ७० देखि रु. एक सयसम्ममा खरिद गर्दछन्,’ उनले भने, ‘बजार पुर्याउन सकियो भने प्रतिकिलो रु. दुई सय ५० सम्ममा सजिलै बिक्री हुन्छ।’

जिल्लामा किबी खेती गरिरहेका सापकोटा र सुवेदी प्रतिनिधि पात्र मात्र हुन्। किबी खेतीमा उनीहरूजस्तै किसानहरूको आकर्षण बढेपछि किबी उत्पादन बढेको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ। 

अघिल्लो वर्षको तुलनामा यस वर्ष ३२.५ प्रतिशतले किबी उत्पादन बढेको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख रामजुगल यादवले जानकारी दिए। कृषि ज्ञान केन्द्रको तथ्यांकअनुसार चालू आर्थिक वर्ष ०८०-८१ मा तीन हजार सात सय ७८.८ मेट्रिक टन किबी उत्पादन भएको छ। यस वर्ष आठ सय ९० हेक्टर क्षेत्रमा किबी खेती गरिएको छ। अघिल्लो आव ०७९-८० मा सात सय असी हेक्टर क्षेत्रमा किबी खेती गरिएकोमा दुई हजार आठ सय ५२ मेट्रिक टन किबी उत्पादन भएको थियो। किसानले करेसाबारीमा समेत किबी खेती गर्न थालेपछि उत्पादन वृद्धि भएको हो।

गत आवमा उत्पादकत्व प्रतिहेक्टर ३.६५ थियो। चालू आवमा बढेर प्रतिहेक्टर ४.२५ पुगेको कृषि ज्ञान केन्द्रको तथ्यांकमा छ। एक बोटमा दुई सय किलोसम्म उत्पादन हुने किबी मकैबारी, चियाबारी र अलैँचीसमेत मासेर रोप्न थालिएको छ। रोपेको ३ वर्षदेखि उत्पादन दिने किबीले लगातार ५० वर्षसम्म उत्पादन दिने किसानको भनाइ छ।

जिल्लाको इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका, माईजोगमाई गाउँपालिका, देउमाई नगरपालिका, फाकफोकथुम गाउँपालिका र मांसेबुङ गाउँपालिकाको माथिल्लो क्षेत्रमा व्यावसायिक किबी खेती हुँदै आएको छ।

See More On

सुझावित समाचार