जीवनकै सर्वोत्कृष्ट इनिङ्स खेलेकी रुबिना क्षेत्रीले एसिसी प्रिमियर कपमा माल्दिभ्सविरुद्ध ११८ रन हान्दै नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय शतकको रेकर्ड बनाइन्
एसिसी प्रिमियर कपमा ११८ रनको शतकीय इनिङ्स खेलेर पूर्वकप्तान रुबिना क्षेत्रीले नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय शतक बनाउने रेकर्ड आफ्नो नाममा राखेकी छिन् । माल्दिभ्समाथि दुई सय १४ रनको विशाल अन्तरको जित निकाल्दा रुबिनाले नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय शतक बनाउने रेकर्ड बनाइन् । साथै, उनले नेपालका लागि सर्वाधिक व्यक्तिगत रन जोड्ने रेकर्ड पनि बनाएकी छिन् ।
मलेसियाको वायुमासमा पहिलो ब्याटिङ गरेको नेपालले २० ओभरमा चार विकेटको क्षतिमा दुई सय २७ रनको योगफल खडा गरेको थियो । प्रत्युत्तरमा जितका लागि दुई सय २८ रनले पछ्याएको माल्दिभ्स १३.५ ओभरमा १३ रनमा अलआउट भयो ।
नेपालकी पूर्वकप्तान रुबिनाले ५९ बलमा एक सय १८ रनको शतकीय इनिङ्स खेलिन् । रुबिनाले शतक केवल ५४ बलमा पूरा गरेकी थिइन् । यसअघि उनले ३३ बलमा अर्धशतक बनाइन् । रुबिना र पूजा महतोबीचको पाँचौँ विकेटका लागि भएको एक सय ६६ रनको साझेदारीले पनि एक रेकर्ड बनाएको छ ।
रुबिनाले नेपालका लागि अन्तर्राष्ट्रिय टी–२० खेलको एकै खेलमा सर्वाधिक चौका र छक्का प्रहार गर्ने रेकर्ड आफ्नो नाममा राखेकी छिन् । उनले माल्दिभ्सविरुद्ध शतक बनाउन १० चौका र ५ छक्का प्रहार गरिन् । यसअघि सीता रानामगरले कतारविरुद्ध २०२१ मा सात चौका र तान्जानियाविरुद्ध २०२३ मा ४ छक्का प्रहार गरेकी थिइन् ।
पूर्वकप्तान रुबिनाले सन् २००८ देखि नेपाली राष्ट्रिय टोलीबाट निरन्तर रूपमा क्रिकेट खेलिरहेकी छिन् । करिअरमा उतारचढाव सामना गरेकी उनले पहिलो अन्तर्राष्ट्रिय शतकीय इनिङ्स खेल्न १५ वर्ष प्रतीक्षा गरेकी छिन् ।
मंगलबार मलेसियामा माल्दिभ्सविरुद्धको शतकीय प्रदर्शन उनको जीवनकै सर्वोत्कृष्ट इनिङ्स हो । उनले सन् २००९ मा नेपालको सिनियर टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेकी थिइन् ।
अन्तर्राष्ट्रिय खेल खेल्न सुरु गरेको तीन वर्षभित्र उनले राष्ट्रिय टोलीको कप्तानी सम्हाल्ने अवसर पाइन् । यसै वर्ष मात्र नेपाल क्रिकेट संघ (क्यान) ले इन्दु बर्मालाई कप्तानी जिम्मेवारी दिएको थियो । रुबिनाले लगभग एक दशक नेपालको क्रिकेट कप्तानी गर्न सफल भइन् । अहिलेको नेपालको टोलीमा रुबिना र सीता रानामगर मात्र सिनियर खेलाडी हुन् । यी दुईबाहेक अन्य सबै खेलाडी युवा हुन् ।
सन् २००९ मा आयोजित एसिसी महिला टी–२० क्रिकेटमा रुबिनाले एकै ओभरमा ५ विकेटको दुर्लभ रेकर्ड बनाइन् । नेपालले आइसिसी टी–२० अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेपछि उनले चीनविरुद्ध डेब्युको अवसर प्राप्त गर्न सफल भइन् । उनले ५३ अन्तर्राष्ट्रिय टी–२० मा ३९ विकेट लिएकी छिन् । उनले ४५ इनिङ्समा सात सय ७१ रन बनाएकी छिन् ।
यसअघि कतारविरुद्ध सिरिजमा सीता रानामगरले नेपालका लागि सर्वाधिक ८२ रनको व्यक्तिगत योगफल बनाएकी थिइन् । माल्दिभ्सविरुद्धको खेलअघि रुबिनाले आफ्नो करिअरमा सर्वाधिक व्यक्तिगत ५० रन कतारविरुद्ध नै बनाएकी थिइन् ।
टी–२० मा नेपालको सबैभन्दा ठूलो योगफल
नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मंगलबार एसिसी प्रिमियर कपअन्तर्गत समूह चरणमा माल्दिभ्समाथि कीर्तिमानी नै कीर्तिमान राखेको छ । नेपालको महिला टोलीले अन्तर्राष्ट्रिय टी–२० फर्म्याट बनाएको यो सर्वाधिक ठूलो योगफल हो ।
सन् २०२१ मा नेपालले कतारविरुद्ध एक सय ६४ रन बनाएको थियो । सोही खेलमा नेपालले कतारविरुद्ध एक सय १९ रनको जित अन्तर निकालेको थियो । रुबिना र पूजाले इन्दु बर्मा र सीता रानामगरको नाममा ८८ रनको साझेदारी तोेड्न सफल भएका छन् । यी दुई खेलाडीबीचको साझेदारी अन्तर्राष्ट्रिय टी–२० फर्म्याटमा विश्व महिला क्रिकेटकै सर्वाधिक पनि हो ।
यसअघि अस्ट्रेलियाका ग्रेसी हारिस र आस्लिघ गार्डनरले भारतविरुद्ध सन् २०२२ मा पाँचौँ विकेटका लागि एक सय २९ रनको साझेदारी गरेका थिए । सन् २०१९ मा १३औँ दक्षिण एसियाली खेलकुदमा माल्दिभ्सलाई ८ रनमा समेटिएको थियो ।