बैंकहरूसित गैरबैंकिङ सम्पत्ति बढ्नुको कारण के होला ?
बैंकहरूमा गैरबैंकिङ सम्पत्ति बढ्नु देशको अर्थतन्त्रमा शिथिलता आएको संकेत हो । देशमा आर्थिक क्रियाकलाप विस्तार हुन नसक्नुको परिणाम पनि हो यो । आर्थिक क्रियाकलापमा शिथिलता आएपछि बैंकहरूको कर्जा असुलीमा समस्या देखिनु पनि स्वाभाविकै हो । देशको आर्थिक वृद्धि अपेक्षित रूपमा हुन सकिरहेको छैन । त्यसैको प्रभाव हो यो गैरबैंकिङ सम्पत्तिको वृद्धि ।
यस्तो सम्पत्ति वृद्धिका असर के–के हुन सक्छन् ?
यसबाट खराब कर्जाको परिमाण बढ्छ । यसले बैंकिङ क्षेत्रमा नकारात्मक प्रभाव पार्छ । बैंकहरूले कर्जा प्रवाहमा कडाइ गर्न थाल्छन् । जसले गर्दा कर्जा प्रवाह नै निरुत्साहित हुन थाल्छ । कर्जा असुलीमा पनि नकारात्मक प्रभाव पर्छ । यसबाट समग्र अर्थतन्त्रमै पनि नकारात्मक प्रभाव पर्छ र ६ प्रतिशतको अपेक्षित आर्थिक वृद्धिमा समेत असर पर्न सक्छ ।
यस्तो समस्याको समाधान कसरी हुन सक्छ त ?
पछिल्लो समयको कर्जा प्रवाहमा बैंकहरू होसियार भइरहेकै छन् । उनीहरूको होसियारीले पनि गैरबैंकिङ सम्पत्तिमा भइरहेको वृद्धिमा केही हदसम्म कमी ल्याउन सक्छ । यस्तो सम्पत्ति वृद्धिमा कमी ल्याउन सबै मिलेर देशको आर्थिक क्रियाकलाप वृद्धि गर्नेतर्फ काम गर्नुपर्छ । उत्पादन बढाउने दिशामा हामी सबै सकारात्मक रूपमा अघि बढ्नुपर्छ । उत्पादन वृद्धिसँगै उपभोग संस्कृति बढाउनेतर्फ पनि ध्यान दिनुपर्छ । यससँगै विकास निर्माणका गतिविधिलाई पनि सँगसँगै अघि बढाउन सक्नुपर्छ । अनि मात्र यस्तो गैरबैंकिङ सम्पत्ति घटाउन सकिन्छ ।