ठगीमा संलग्न सर्लाहीका रामेश्वर सिंह पक्राउ
वैदेशिक रोजगारी ठगीमा डेढ वर्ष सजाय भुक्तानपछि सर्लाही हरिवन नपा–३ का ३५ वर्षीय रामेश्वर सिंहले फोटो मात्र होइन, नागरिकतासमेत अर्कै प्रयोग गरी कन्सल्टेन्सी खोले । बैंकमा पनि सोही फोटो र नागरिकता प्रयोग गरी खाता खोले । र, अन्धाधुन्ध ठगीमा उत्रिए । कागजातमा जब उनको हस्ताक्षर भेटियो, त्यतिवेला उनको कर्तुत खुल्यो, र प्रहरीले पक्राउ गर्यो ।
प्रहरीका अनुसार पक्राउ परिने डरले रामेश्वरले सरोज यादव, नागेन्द्र यादव र गुरुदेव यादवको नागरिकता दुरुपयोग गरी झापाको बिर्तामोडमा विराट कन्सल्टेन्सी, काठमाडौंमा गढीमाई कल्सन्टेन्सी र कमलामाई कन्सल्टेन्सी खोले । सोही नागरिकता प्रयोग गरी बैंकमा खाता खोले । धन्दामा फोटो भने आफ्ना ज्वाइँ रामसेवक सिंहको प्रयोग गरे । ठगीको रकम असुल्न बैंक खातामा भने आफ्नै हस्ताक्षर प्रयोग गरे । अन्ततः सोही हस्ताक्षरका कारण पक्राउ परे । कागजातमा भएको हस्ताक्षरबाट मात्रै उनलाई पक्राउ गर्न सकिएको काठमाडौं अपराध अनुसन्धान कार्यालयका डिएसपी गोविन्द पन्थीले बताए । उनले भने, ‘अरूको नागरिकता र फोटो प्रयोग गरी कन्सल्टेन्सी मात्रै होइन, बैंक खातासमेत खोलेको रहेछ । सोही नामबाट युवाबाट रकम उठाउने रहेछ । करिब ४८ जनाबाट ६३ लाख रुपैयाँ उठाएपछि एकाएक सम्पर्कविहीन भयो । हामीकहाँ उजुरी पर्यो । तत्काल अनुसन्धान सुरु गर्यौँ । त्यसपछि मात्रै यसको कर्तुत खुल्यो ।’
रामेश्वर रातोपुलस्थित बजाज ओभरसिजमा ६ वर्षअघि करिब वर्ष दिन सामान्य एजेन्टका रूपमा कार्यरत थिए । सम्पर्क बढाएपछि उनले ३० लाख रुपैयाँमा काठमाडौंकै भेरी ओभरसिज खरिद गरे । वैदेशिक रोजगारका नाममा दुई सय युवाबाट तीन करोड रुपैयाँ उठाए । र, फरार भए ।
ठगिएका युवा उजुरी लिएर प्रहरीकहाँ पुगे । त्यसपछि उनी पक्राउ परे । अदालतले घटना प्रमाणित गर्यो । र, उनलाई बिगोसहित डेढ वर्ष कैद सजाय ठहर गर्यो । सजाय भुक्तानपछि उनी कार्यालय पुगे । वैदेशिक रोजगारका लागि पेस भएका युवाको नागरिकता संकलनमा जुटे । यही क्रममा सरोज, नागेन्द्र र गुरुदेवको नागरिकता फेला पारे । नागरिकता बोकेर कम्पनी रजिस्टार कार्यालय पुगे । र, तीनवटै नागरिकता प्रयोग गरी विराट, गढीमाई र कमलामाई कन्सल्टेन्सी खोले । फाराममा फोटो भने ज्वाइँ रामसेवक सिंहको प्रयोग गरे ।
कारोबारका लागि उनलाई बैंकमा खाता खोल्नुपर्ने थियो । सोही नागरिकता लिएर उनी बैंक पुगे । फराममा फोटो ज्वाइँ रामसेवकको टाँसे । खाता खोले । र, रोमानिया, जर्मनी, अफगानिस्तान, क्रोएसियालगायतका मुलुक पठाउने भन्दै युवासँग रकम असुले । रकम बैंकमा जम्मा गरे । र, एकाएक सम्पर्कविहीन बने ।
रोजगारीमा जान नसकेपछि युवाहरू गुनासो लिएर वैदेशिक रोजगार विभाग पुगे । विभागले घटनाको अनुसन्धान गर्न उनीहरूलाई प्रहरी कार्यालय पठायो । प्रहरीले अनुसन्धान सुरु गर्यो । यही क्रममा प्रहरी युवाहरूले रकम बुझाएको कन्सल्टेन्सी पुग्यो । जब प्रहरीले कागजात खोज्यो । कन्सल्टेन्सी रामेश्वरको नाममा नभई सरोज, नागेन्द्र र गुरुदेवको नाममा दर्ता भएको भेटियो ।
अनुसन्धान कार्यालयका डिएसपी पन्थीले भने, ‘जेल पर्नुअघि यसले भेरी कन्सल्टेन्सी चलाउँथ्यो । विदेश जाने भनेर सरोज, नागेन्द्र र गुरुदेवले त्यहाँ नागरिकता बुझाएका रहेछन् । जेलबाट छुटेपछि सोही नागरिकता फेला पार्यो । दुरुपयोग गरी कन्सल्टेन्सी खोल्यो । रकम उठायो । र, फरार भयो । ठग्ने र कारबाहीबाट बच्ने नियतले नै यसले जुक्ति निकालेको देखिन्छ ।’