अभियानसँगै महासमिति बैठकको समानान्तर तयारीमा कांग्रेस

मंगलबार, २३ माघ, २०८०
डिजिटल संस्करण

समुदायमा कांग्रेस अभियानसँगै कांग्रेसले समानान्तर रूपमा महासमिति बैठकको तयारी अगाडि बढाएको छ । अभियानलगत्तै ७ फागुनबाट कांग्रेसको महासमिति बैठक सुरु हुँदै छ । २६ माघमा कांग्रेसको अभियान सकिँदै छ । महासमिति बैठक १० फागुनसम्म चल्नेछ ।

महासमिति बैठकका लागि कांग्रेसले व्यवस्थापकीय तयारी तीव्र पारेको छ । प्रचार विभाग प्रमुख मीन विश्वकर्मा अभियान र महासमिति बैठकको तयारी समानानन्तर रूपमा जारी रहेको बताउँछन् । कांग्रेसले महासमिति बैठक असर नपर्ने गरी केन्द्रीय सदस्य र पदाधिकारीलाई जिम्मेवारी दिएर अभियानमा पठाइएको छ । उनका अनुसार नीतिगत र व्यवस्थापकीय तयारीका लागि १३ उपसमिति बनाइएका छन् । उपसमितिहरूले निरन्तर काम गरिरेहको छ । प्रतिनिधि छनोट अन्तिम चरणमा छ । उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेको नीतिगत प्रस्ताव तयार समितिले प्रस्ताव तयार पारेको छ । 

उनका अनुसार माघ मसान्तभित्र प्रतिनिधिको टुंगो लगाउने र ४ फागुनभित्र केन्द्रीय समिति बैठक राखेर प्रस्ताव र प्रतिनिधिको अनुमोदनलगायतका आवश्यक निर्णय लिने तयारी छ । ‘समुदायमा अन्तरसंवाद गरिरहेका छौँ । साथै, नीति अधिबेशनसमेत गर्ने गरी हुन लागेको महासमिति बैठकको तयारी पनि चलिरहेको छ,’ उनले भने, ‘प्रतिनिधि छनोटको काम अन्तिम चरणमा छ । नीति अधिवेशन ४ फागुनसम्ममा केन्द्रीय समिति राखेर प्रतिनिधि र प्रस्तावलाई अनुमोदन गर्नेछौँ ।’

८ असोजमा कांग्रेसले गरेको केन्द्रीय समिति बैठकले महासमिति बैठकले तयारीका लागि सभापति शेरबहादुर देउवाको संयोजकत्वमा मूल तयारी समिति गठन गरेको थियो । बैठकले नीतिगत प्रस्ताव तयार गर्न उपसभापति खड्काको संयोजकत्वमा प्रस्ताव तयारी समिति, सांगठनिक प्रतिवेदनको जिम्मा महामन्त्री थापा र समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तावको जिम्मा महामन्त्री शर्माले प्रस्तुत गर्ने निर्णय गरेको थियो । महामन्त्रीद्वयले छुट्टाछुट्टै एजेन्डालाई संयुक्त खाकाका रूपमा तयारी गरिरेहेका छन् । महामन्त्रीद्वयले सांगठनिक प्रस्ताव र समसामयिक राजनीतिक प्रस्तावको खाकालाई अभियानको विषय समेटेर अन्तिम रूप दिने तयारी छ । 

महामन्त्री थापा अभियानलगत्तै तल्लो तहका सुझावलाई समेटेर प्रस्तावको एजेन्डा बनाउने बताँउछन् । सहमहामन्त्री बद्री पाण्डे ग्रासरुटमा पुगेर जनस्तरमा अन्तरक्रियापछि हुने नीति अधिवेशनमा तल्लो तहबाट आएका सुझावलाई समेट्ने बताउँछन् ।  

प्रतिनिधि छनोटलाई अन्तिम रूप दिँदै निर्वाचन समिति 
महासमिति बैठकका लागि प्रतिनिधि छनोटको कामलाई पनि अन्तिम रूप दिन लागिएको छ । केन्द्रीय निर्वाचन समिति संयोजक खम्बबहादुर खातीका अनुसार २८ क्षेत्रको प्रतिनिधि छनोट भएको जानकारी आएको छैन । ‘पार्टीबाट आग्रह भएको अवस्थामा बाहेक हामी म्याद थप गर्ने पक्षमा छैनौँ । २० माघभित्र आएका विवरणलाई समेटेर अन्तिम विवरण तयार गर्दै छौँ । यो साताभित्र प्रतिवेदन बुझाँउछौँ । नभएका स्थानमा पार्टीले विकल्प दिन सक्छ,’उनले नयाँ पत्रिकासँग भने ।

उनका अनुसार विदेशस्थित जनसम्पर्क समितिबाट समेत प्राप्त विवरणलाई समेटेर प्रतिनिधिको अन्तिम विवरण तयार हुने क्रममा छ । यस आधारमा महासमिति बैठक प्रतिनिधिको संख्या टुंगो लाग्ने निर्वाचन समितिको भनाइ छ  ।

थप आठ उपसमिति गठन

महासमिति बैठकको तयारीका लागि कांग्रेसले आठ उपसमिति गठन गरेको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका महासमितिको बैठक तयारी मूल समितिका संयोजकसमेत रहेका सभापति शेरबहादुर देउवाले बैठकलाई व्यवस्थित गर्न उपसमिति गठन गरेका हुन् । 

पौडेलका अनुसार मीनबहादुर विश्वकर्माको संयोजकत्वमा प्रचार–प्रसार उपसमिति, मदनबहादुर अमात्यको संयोजकत्वमा आवास समन्वय उपसमिति, उदयशमशेर राणाको संयोजकत्वमा भोजन व्यवस्थापन उपसमिति, धना खतिवडाको संयोजकत्वमा यातायात व्यवस्थापन उपसमिति गठन गरिएको छ । साथै, स्वयंसेवक परिचालन उपसमितिको संयोजकमा जितजंग बस्नेत, स्वास्थ्य समन्वय उपसमितिको संयोजकमा उर्मिला नेपाल केसी, इन्द्र बानियाँको संयोजकत्वमा प्रदेश समन्वय उपसमिति, स्थानीय व्यवस्थापन उपसमितिको संयोजकमा जितेन्द्र श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।

सुझावित समाचार