हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार अहिले सुदूरपश्चिम प्रदेशको धेरै स्थानमा, कर्णाली प्रदेशका थोरै स्थानमा र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा फाट्टफुट्टदेखि हल्का वर्षासहित हल्कादेखि मध्यम हिमपात भइरहेको छ। साथै देशका मध्य तथा पूर्वी तराईका थोरै स्थानहरूमा हुस्सुसमेत लागेको छ।
आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानका साथै बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा फाट्टफुट्टदेखि हल्का वर्षा भइरहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए।
उनका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानका साथै बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपात भइरहेको छ।
अहिले काठमाडौंको वायुको तापक्रम १२ डिग्री सेन्टिग्रेड मापन गरिएको तथा पारदर्शिता दुई हजार पाँच सय मिटर रहेको महाशाखाले जनाएको छ। यसैगरी काठमाडौंको आज बिहानको न्यूनतम तापक्रम ५.३ डिग्री रहेको तथा आज अधिकतम तापक्रम १५ देखि १७ डिग्री सेन्टिग्रेडको बीचमा रहने मौसमविद् लामिछानेले बताए।
यसैगरी, आज राति सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। देशका पहाडी भूभागका एक–दुई स्थानमा फाट्टफुट्टदेखि हल्का वर्षाको सम्भावना रहनुका साथै देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।