बागलुङ नगरपालिका र पर्वतको कुश्मा नगरपालिकाले फोहोर व्यवस्थापनका लागि दक्षिण कोरियासँग सम्झौता गरेका छन्।
बागलुङ नगरपालिकामा आयोजित एक कार्यक्रममा दुवै नगरका प्रमुख र कोरियाको ‘एएलके इसिओ’ कम्पनीसँग प्रारम्भिक सम्झौता गरिएको हो। नकुहिने फोहाेरको दिगो व्यवस्थापनका लागि कोरियाली प्रविधि भित्र्याउने नगरपालिकाको लक्ष्य छ।
कोरियाको वातावरण विभागअन्तर्गतको ‘एएलके इसिओ’ कम्पनीका प्रमुख खो यु सेप र प्रमुख कार्यकारी अधिकृत जंग डेटोङ तथा बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठ र कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले सम्झौतामा हस्ताक्षर गरेका छन्। कोरियाली कम्पनीले ‘जिरो बेस्ट म्यानेजमेन्ट’का लागि प्रविधि उपलब्ध गराउनेछ।
साथै प्राविधिक सीपका लागि पनि तालिम दिनेछ। उक्त कम्पनीले फोहाेर व्यवस्थापन गर्ने मेसिन नगरपालिकालाई बिक्री गर्ने, कम्पनीले तीन वर्ष निःशुल्क सर्भिस दिने तथा आवश्यक तालिम लिन चाहने प्राविधिकलाई कोरियामै लगेर व्यावहारिक रूपमा ज्ञान दिनेछ। केही समय कोरियाका प्राविधिकले यहीँ आएर मेसिन चलाउने तालिमसमेत दिनेछन्।
हाल बागलुङ नगरपालिकाले कालीगण्डकी र काठेखोलाछेउको खुर्तुकेमा फोहर फाल्दै आएको छ। कुश्मा नगरपालिकाले पनि बागलुङ पोखरा सडकको छमर्केनजिकै फोहाेर फाल्दा दुर्गन्ध फैलिएको छ।
दुवै नगरका डम्पिङ साइटसडक छेवैमा छन् । ०५४ सालदेखि बागलुङ नगरपालिकाले एक दशकसम्म कालीगण्डकी किनारमा फोहाेर फालेको थियो। अहिले बानपा– १ को खुर्तुर्के भन्ने स्थानमा फोहोर व्यवस्थापन गरिँदै आइएको छ। कुहिने र नकुहिने फोहर एकै ठाउँमा फाल्दा डंगुर बनेको छ। अब भने नगरपालिकले कुहिने र नकुहिने फोहाेर छुट्टै निकाल्ने व्यवस्था गर्ने भएको हो।
उक्त मेसिनमा ढुंगा, सिसा र फलामजन्य वस्तुबाहेक सबै नष्ट पार्न सकिन्छ। साथै सो विधिबाट न्यूनतम विद्युतकाे खपतमै एक हजार एक सय डिग्री तापक्रमबाट फोहर नष्ट हुन्छ। त्यसबाट धुँवा र धुलोसमेत नहुने भएकाले कार्बन उत्सर्जन पनि नहुने बताइएको छ।
बागलुङ नरपालिकाले दैनिक ६ टनसम्म फोहाेर निष्कासन गर्ने भएकोले प्लास्टिकजन्य वस्तु नै दुई टनसम्म हुने अनुमान गरेर ठूलो मेसिन खरिद गर्ने भएको हो। कुश्मा नगरपालिकाले भने सानो मेसिनका लागि तयारी गरेको जोशीले बताए।
बागलुङ नगरपालिकाले चालू आर्थिक वर्षका लागि फोहाेर व्यवस्थापनका लागि रु. एक करोड २० लाख रकम विनियोजन गरेको छ। उक्त रकमबाटै यो व्यवस्थापन गर्ने लक्ष राखेको छ।
चार महिनाभित्र कोरियाबाट प्राविधिकसहित मेसिन ल्याएर जडान गर्न सकिने कम्पनीका नेपाली प्रतिनिधि विष्णु ढुंगानाले बताए। यो प्रविधि सञ्चालनमा आएपछि प्लास्टिकजन्य फोहाेर पूरै हटाउन सकिनेछ। बर्सेनि डम्पिङ साइट व्यवस्थापनका लागि खर्च हुने रु. एक करोड ५० लाखभन्दा बढी रकमबाट २५ देखि ३० प्रतिशतको खर्चमा व्यवस्थापन गर्न सकिने इन्जिनियर दीपेन्द्र भण्डारीले बताए।