राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत मतदान सकिएको छ। सातै प्रदेशका १४ मतदान केन्द्रमा बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको हो।
निर्वाचन आयोगका अनुसार चुनावमा ९९.३२ प्रतिशत मत खसेको छ। मतदान शान्तिपूर्ण भएको र राति ८ बजेसम्म सबै नतिजा आउने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
पौडेलका अनुसार मधेश प्रदेशको जनकपुरमा मतगणना सुरु भइसकेको छ। अन्य प्रदेशमा पनि सर्वदलीय बैठकहरू सुरु भएका छन्। अबको एक घन्टामा सबै प्रदेशमा मतगणना सुरु हुनेछ।
राष्ट्रिय सभाका १९ सिटका लागि आज निर्वाचन भएको हो। फागुन २० मा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनासहित २० जनाको पदावधि सकिँदै छ। १९ जना चुनावबाट निर्वाचित हुनेछन् भने एकजना राष्ट्रपतिले मनोनीत गर्नेछन्। १९ जनाका लागि आठ दलबाट ५१ जना प्रतिस्पर्धामा छन्।