अहिले उठिरहेको ग्यास विक्रेता प्रमाणीकरणको विषय के हो ?
प्रज्ज्वलनशील पदार्थ एलपी ग्यास सहरदेखि गाउँसम्म र घरायसीदेखि व्यावसायिक प्रयोजनसम्म प्रयोग भइरहेको सन्दर्भमा देशैभरिका स्थानीय निकायमा कारोबारलाई व्यवस्थित र सुरक्षित बनाउन ल्याइएको अवधारणा नै ग्यास विक्रेता प्रमाणीकरण हो । यो अवधाणा विगत सात वर्षदेखि ग्यास आपूर्ति कम हुँदा र पटक–पटक ग्यास दुर्घटना हुँदा चर्चामा आउने र फेरि सेलाउने गरेको छ ।
ग्यास विक्रेता प्रमाणीकरण भएपश्चात् के हुन्छ ?
ग्यास कारोबारमा विक्रेता प्रमाणीकरणको महत्वपूर्ण भूमिका हुन्छ । व्यवस्थित रूपमा ग्यास कारोबार गर्ने विक्रेता मात्रै प्रमाणीकरणमा आउँछन् । यसका लागि आवश्यक नीति, नियम बनाइनुपर्छ र त्यसैअनुरूप स्थानीय निकायले ग्यास डिलर व्यवसाय अनुमति दिने प्र्रणाली सुरु हुन्छ । जसमा ग्यासको छुट्टै पसल, अग्नि नियन्त्रक यन्त्र, जोख्ने तराजु, मूल्यसूची, व्यवसाय गर्न सरकारी अनुमति पत्र, सम्बन्धित उद्योगको बिक्री अनुमति पत्र अनिवार्य हुन्छ । अहिले जस्तो छरपस्ट ग्यास डिलर हुँदैनन् । सबै डिलर आयल निगम र ग्यास उद्योगको सफ्टवेयरभित्र रहने हुँदा उपभोक्ताले कुन कम्पनीको ग्यास कहाँ पाइन्छ भनेर सजिलै थाहा पाउन सक्छन् ।
हालसम्म प्रमाणीकरणको विषय किन अगाडि नबढेको हो त ?
जब–जब ग्यास आपूर्तिमा समस्या आउँछ, तब मात्रै विक्रेता प्रमाणीकरणले चर्चा पाउँछ । आपूर्ति सहज हुनासाथ पुनः यो विषय सेलाउने गरेको छ । बजार अव्यवस्थित बनाएर धमिलो पानीमा माछा मार्ने केही व्यक्तिको स्थार्थले पनि यो विषय रोकिएको हो । तर, नीति–नियम बनाएर उपभोक्ता, उद्योगी, विक्रेता र सरकारको हितमा रहेको यो व्यवस्था लागू गर्न अब ढिला गर्नुहुँदैन ।