एकीकृत समाजवादीले नेपाली विशेषतासहित समाजवादको दस्ताबेज तयार पार्ने भएको छ । आगामी महाधिवेशनमा पेस गर्ने गरी अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा गठित महाधिवेशन दस्ताबेज समितिले लेखनको काम सुरु गरेको छ ।
२७ सदस्यीय महाधिवेशन दस्ताबेज समितिमा महासचिव घनश्याम भुसाललाई सचिवको जिम्मेवारी दिइएको छ ।समाजवादी नीति र कार्यक्रम दस्ताबेजमा आउने समितिका सदस्य गणेश विकेले जानकारी दिए । दस्ताबेजमा रोजगारी, समृद्धि र सुशासनलगायत विषय समेटिने भएको छ ।
एकीकृत समाजवादीले आगामी जेठमा महाधिवेशन गर्ने तयारी गरेको छ । महाधिवेशनमा नेपाली विशेषताको समाजवाद दस्ताबेजसहित राजनीतिक, सांगठनिक प्रस्ताव र विधानसहितका दस्ताबेज पेस हुने विकेले जानकारी दिए ।
श्रम गर्न सक्ने सबै नेपालीलाई कसरी रोजगारी दिएर समृद्धि र समाजवादको आधार तयार पार्ने भन्ने विषय पनि दस्ताबेजमा आउने भएको छ । उत्पादक पुँजी तथा रोजगारीको विकास नगरी देशबाट गरिबी हटाउन नसकिने र समृद्धि पनि प्राप्त गर्न नसकिने एकीकृत समाजवादीको निष्कर्ष छ ।
कृषि, उद्योग, पर्यटन, पूर्वाधार र विदेश नीतिबारे पनि दस्ताबेजमा स्पष्ट पारिने भएको छ । दस्ताबेजमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन विषय समेटिने एकीकृत समाजवादीले जनाएको छ । महाधिवेशनअघि १४ र १५ माघमा विधान संशोधन गर्न केन्द्रीय परिषद्को दोस्रो बैठक बोलाइएको छ ।