उपत्यकामा भएको एक गम्भीर अपराध तीन महिनापछि सार्वजनिक भएको छ । विश्वासमा ‘लिभिङ टुगेदर’मा रहेका एक प्रेमीले प्रेमिकाको हत्या गरेका छन् । प्रहरीले आरोपीलाई तीन महिनापछि पक्राउ गरेको छ । तनहुँ भीमदत्त नगरपालिका– १ की ५१ वर्षीया सफिना मियाँको हत्या ‘लिभिङ टुगेदर’मा बस्दै आएका प्रेमीले गरेको खुलेको छ ।
हत्यामा संलग्न अभियुक्त भारत बिहार दरभंगा लालबागका ४७ वर्षीय इकरामुल हक अन्सारी रहेका छन् । प्रहरीका अनुसार उनीहरू दुवैजना विवाहित हुन् । तर, प्रहरीका अनुसार उनीहरूको पारिवारिक सम्बन्ध राम्रो थिएन । अन्सारी वर्ष दिनदेखि सफिनासँग ‘लिभिङ टुगेदर’मा बस्दै आएका थिए । गार्मेन्टमा काम गर्दै आएका अन्सारीले बस्नका लागि काठमाडौं महानगरपालिका– १५ स्वयम्भू शोभाभगवतीस्थित सरिता गिरीको घरमा कोठा भाडा लिई बस्दै आएका थिए । दुईबीच वेलाबखत आपसी विवाद हुँदै आएको थियो ।
उनीहरूबीचको सोही विवाद सफिना हत्याको कारण रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भूपेन्द्र खत्रीले बताए । ‘यिनीहरू वर्ष दिनदेखि ‘लिभिङ टुगेदर’मा थिए । दुईबीच वेलाबखत विवाद हुने गरेको रहेछ । सोही विवाद हत्याको कारण रहेको देखिन्छ,’ एसएसपी खत्रीले भने, ‘मृतक सफिना र घटनामा संलग्न अन्सारी दुवै विवाहित हुन् । उनीहरू दुवैजना परिवारबाट अलग–अलग थिए ।
सफिनाको हत्या कात्तिकको पहिलो साता भएको प्रहरीको दाबी छ । घटनाको दिन अन्सारी मदिरा सेवन गरी कोठामा पुगेका थिए । प्रहरीको अनुसन्धानमा देखिएअनुसार खाना खाएर दुवै सँगै सुतेका थिए । यही क्रममा अन्सारीले सफिनालाई ढोकाको आग्लो झिकेर प्रहार गरेका थिए । त्यसपछि सलको पासोले घाँटीमा थिचेका थिए । मृत्यु भएपछि अन्सारीले सफिनाको शवलाई खाटमुनि धकेली कोठाबाट निस्केको थिए । ढोकामा ताला लगाई चाबी भने नजिकैको झाडीमा फ्याँकेका थिए ।
त्यसलगत्तै उनी भारतको बिहार पुगेका थिए । करिब दुई महिनाको बसाइपछि उनी पुनः नेपाल फर्किएका थिए । र, काठमाडौं महानगरपलिका– १३ कालीमाटीस्थित दिलीप साहले सञ्चालन गरेको बिएन फेसन गार्मेन्टमा काम सुरु गरेका थिए । यस क्रममा उनले सफिनाको शव दाहसंस्कार भए–नभएको सम्बन्धमा आफन्तमार्फत सूचना लिइरहेका थिए । यता, तीन महिनासम्म पनि नखुलेपछि घरबेटी गिरीले गत ३ माघमा स्थानीय जनप्रतिनिधिको रोहवरमा कोठाको ताल्चा फोडेकी थिइन् । ढोका खोलेर भित्र प्रवेश गर्दा सफिनाको मृत शरीर फेला परेको थियो । सडेगलेको अवस्था शव फेला परेपछि गिरीले प्रहरीलाई खबर गरेकी थिइन् ।
घटनास्थल पुगेको प्रहरीले तुरुन्तै अनुसन्धान थाल्यो । प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी खत्रीका अनुसार भारतीय प्रहरीसँगको समन्वयमा अन्सारी नेपालमै रहेको सूचना आएको थियो । ‘घटनास्थलबाट बरामद सबुतका आधारमा अनुसन्धान सुरु भयो । घटनामा अन्सारी संलग्न रहेको आशंकापछि उनको खोजी भयो,’ उनले भने, ‘भारतीय प्रहरीसँग पनि समन्वय भयो । उनी काठमाडौंमै रहेको सूचना प्राप्त भयो । खोजी गर्ने क्रममा उनी कालीमाटीबाट पक्राउ परे । उनीविरुद्ध अहिले अनुसन्धान जारी छ ।’
प्रहरीका अनुसार मृतक सफिनाका एक छोरा र छोरी छन् । उनको श्रीमान् नसिव दिन मियाँ तीन वर्षदेखि रोजगारका क्रममा भारतको कस्मिर बस्दै आएका छन् । यसबीचमा उनी वेलाबखत मात्रै घर आउँथे । र, पुनः कस्मिर नै फर्कन्थे । उनी र श्रीमती सफिनाबीचको सम्बन्ध राम्रो थिएन ।
यहीबीचमा सफिना एकाएक परिवारको सम्पर्कबाट टाढिएकी थिइन् । नसिवले परिवारको सदस्य लगाएर उनको खोजी पनि गरेका थिए । उनी अन्सारीसँग लिभिङ टुगेदरमा रहेको खबरपछि नसिवले खोजी कार्य बन्द गरेका थिए । यता, घटनामा संलग्न अन्सारीका श्रीमतीसहित दुई सन्तान छन् । नौ वर्षदेखि काठमाडौं बस्दै आएका उनको पनि परिवारसँग राम्रो सम्बन्ध छैन । ‘गुरुभाइ’का नामले परिचित उनी गार्मेन्टमा सिलाइ कालिगढका रूपमा कार्यरत छन् ।