जुम्लाको पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिकाको मुकाम डिल्लीचौर लासीआसपास गाउँबाहेक धेरैजसो गाउँ सञ्चारविहीन छन्। यसमध्ये एक हो गढीगाउँ।
पातारासी गाउँपालिका– १ गढीगाउँ सदियौँदेखि सञ्चारविहीन छ। अहिलेको समयमा पनि यहाँका नागरिक पुरानै प्रणालीअनुसार खबर आदान–प्रदान गर्दै आएका छन्।
खबर आदान–प्रदान गर्न रैबार पठाउने, मान्छेमार्फत खबर गर्ने गरिन्छ। अढाई सय घरधुरी रहेको गढीगाउँमा एक हजार चार सय ५८ जनसंख्या छ।
वडासचिव नरबहादुर बुढाका अनुसार वडा कार्यालयमा टेलिफाेन र इन्टरनेट नहुँदा अनलाइनमार्फत गर्नुपर्ने पञ्जीकरणका काम गाउँपालिकाको कार्यालय डिल्लीचौर लासी गएर गर्नु परेको छ। उनले भने, ‘यो गाउँमा आएपछि मान्छे हराएको महसुस हुन्छ। टेलिफोन सेवा नहुँदा को कता गयो ? के भइरहेको छ? कुनै जानकारी पनि नहुने अवस्था छ। यहाँ कोही बिरामी हुँदा निकै समस्या हुन्छ। खबर आदान–प्रदान हुँदैन। समयमा स्वास्थ्य संस्था लैजाने साधन मिल्दैन।’
वडाध्यक्ष लालसिंह ऐडीले तल्फीको गाउँमाथि डाँडामा टेलिफोनको टावर निर्माणधीन अवस्थामा रहेको बताए। त्यो टावर बनेपछि यो गाउँमा पनि टेलिफोनले काम गर्ने अपेक्षा गरिएको छ ।