११ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सत्तागठबन्धन दलहरूले बागमती प्रदेश निर्वाचन समन्वय समिति गठन गरेका छन् । समन्वय समितिमा कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, माओवादी केन्द्रका प्रदेश अध्यक्ष सरल सहयात्री पौडेल र एकीकृत समाजवादीका प्रदेश अध्यक्ष सावित्री भुसाल रहेका छन् ।
बिहीबार भएको सत्तागठबन्धनका तीन दलका प्रदेश सभापति र अध्यक्षहरू, कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता, नगरपालिका महासंघ नेपालका बागमती प्रदेश अध्यक्ष, गाउँपालिका महासंघ नेपालका बागमती प्रदेश अध्यक्ष, तीनै दलका प्रदेश पदाधिकारीहरू र गठबन्धनबाट राष्ट्रिय सभा सदस्यका उम्मेदवारको उपस्थितिमा समन्वय समिति गठन गरिएको हो ।
राष्ट्रिय सभा सदस्य पदको निर्वाचनमा एकीकृत रूपमा चुनावी गतिविधि गर्ने र सत्तागठबन्धनका उम्मेदवारहरूलाई विजयी बनाउन भूमिका खेल्ने गरी निर्वाचन समन्वय समिति गठन गरेको कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले जानकारी दिए ।
सभापति बानियाँका अनुसार बागमती प्रदेश सभा सदस्यहरूसँग चुनावी समन्वय गर्न माओवादी केन्द्रका संसदीय दलका नेता एवं मुख्यमन्त्री शालिकराम जम्कट्टेल, कांग्रेस संसदीय दलका नेता एवं प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा र एकीकृत समाजवादीका प्रदेश संसदीय दलका नेता कृष्ण खनाललाई जिम्मेवारी दिइएको छ ।
यसैगरी, निर्वाचनमा प्रदेशभित्रका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा सत्तागठबन्धनको तर्फबाट विजयी प्रमुख र उपप्रमुखहरूसँगको समन्वय नगरपालिका महासंघ नेपाल, बागमती प्रदेशका अध्यक्ष उपेन्द्र कार्की र गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षहरूसँगको समन्वय गाउँपालिका महासंघ नेपाल, बागमती प्रदेशका अध्यक्ष कर्णबहादुर थापा मगरले गर्ने निर्णय पनि गरेको छ ।
सभापति बानियाँले बैठकले माघ ६ गते शनिबार काठमाडौंमा बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यका उम्मेदवारहरू र मतदाताहरूबीच भेटघाटको कार्यक्रम आयोजना गर्ने निर्णय गरेको जानकारी दिए ।