३ प्रश्न

बुधबार, २५ पुष, २०८०
डिजिटल संस्करण

एक वर्षमै स्थायी बसोवास गर्ने गरी ७१ हजार नेपाली बिदेसिनुले के संकेत गर्छ ? 
नेपाली समाजमा चरम निराशा छ । सरकारले देशमै सम्भावना छ, काम र मामको खोजीमा कसैले पनि बिदेसिनुपर्दैन भन्ने आशा जगाउन सकेको छैन । जनताले देशभित्र भविष्य देख्न सकिरहेका छैनन् । बिदेसिन पाउनेजति सबै भाग्यमानी हुन् भन्ने भाष्य स्थापित हुँदै गएको छ । जसले गर्दा काम गर्न सक्नेजति बिदेसिने र नसक्नेजति मात्र यता अड्किने अवस्था आइरहेको छ । 
नेपाली समाजमा यसको दूरगामी प्रभाव कस्तो हुन सक्छ ?  
वैदेशिक रोजगारीमा खाडी, मलेसिया, कोरिया या जापान जस्ता देशमा जानेले आफ्नो शतप्रतिशत कमाइ देशभित्रै पठाउँछन् । यसले देशको अर्थतन्त्र चलायमान गराउँछ । तर, उतै बसोबास गर्नेगरी ग्रिनकार्ड या अन्य कुनै सुविधा पाएर गएकाहरूले सेटल भएपछि आफूनिकट आफन्तलाई पनि उतै तान्छन् । नेपालमा छँदा आफ्नो भविष्य नदेख्नेले उता पैसा कमाएपछि नेपालमा सो पैसाको भविष्य देख्न छाड्छन् । त्यसैले, तिनले आफ्नो पैतृक सम्पत्तिसमेत बेचबिखन गरी कुनै न कुनै माध्यमबाट उतै लान्छन् । यसले गर्दा देशको जनशक्ति मात्र होइन, पुँजीसमेत पलायन हुन्छ ।  

यसलाई रोक्ने कुनै विधि या उपाय हुँदैन ?  
सबैभन्दा पहिले तिनमा आशा जगाउन सक्नुपर्छ । यसका लागि सबैभन्दा पहिले राज्यले शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी गर्न सक्नुपर्छ । विदेश गएर फर्केकाहरूलाई उता कमाएको सानोतिनो पुँजीबाट यतै व्यवसाय गर्न राज्यले सहजीकरण गरिदिनुपर्छ । दुई छिमेकी मुलुकलाई हेरेर तुलनात्मक लाभ हुने कृषि क्षेत्र पहिचान गरी त्यसमा युवालाई आकर्षित गर्न सक्नुपर्छ । 

सुझावित समाचार