राप्रपा उम्मेदवारलाई समर्थन गर्ने एमालेको निर्णय

मंगलबार, २४ पुष, २०८०
डिजिटल संस्करण
राप्रपा उम्मेदवारलाई समर्थन गर्ने एमालेको निर्णय

फाइल तस्बिर ।

कोशी प्रदेश सभामा सभामुख निर्वाचन

कोशी प्रदेशको सबैभन्दा ठूलो दल एमालेले सभामुखमा राप्रपाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ । 

भर्खरै सकिएको एमाले संसदीय दलको बैठकले राप्रपा उम्मेदवारलाईसमर्थन गर्ने निर्णय गरेको हो । 

‘हाम्रो संसदीय दलको बैठकले राप्रपाले अघि सार्ने उम्मेदवारलाई सभामुखमा समर्थन गर्ने निर्णय गरेको छ,’ एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीमरण भण्डारीले नयाँ पत्रिकासँग भने ।

प्रमुख सचेतक भण्डारीले प्रदेश सभामा आफ्नो दलबाट उपसभामुख रहेकाले संविधानतः पनि एमालेले सभामुखमा उम्मेदवारी दिन नसक्ने हुँदा राप्रपालाई समर्थन गर्ने निर्णय गरेको तर्क गरे । 

‘उपसभामुख पदमा हाम्रो पार्टीबाट प्रतिनिधित्व रहेकाले संविधान त हामीले सभामुखमा उम्मेदवारी दिन मिल्दैन । त्यसैले गठबन्धन बाहिर रहेको राप्रपालाई समर्थन गर्ने निर्णय गरेका छौँ,’ प्रमुख सचेतक भण्डारीले भने । 

राप्रपाले सभामुखका लागि प्रमुख सचेतक अम्बरबहादुर विष्टलाई अघि सार्ने निर्णय गरिसकेको छ । सत्तागठबन्धनमा रहेका दलहरूले पनि राप्रपा उम्मेदवारलाई समर्थन गर्ने सहमति गरिसकेकाले प्रदेश सभाले आजै निर्विरोध रूपमा सभामुख पाउने सम्भावना देखिएको छ । 

कोशीमा स्थित सरकारका लागि राप्रपा ‘कि रोल’मा छ । त्यसैले वर्तमान सत्तागठबन्धन पनि राप्रपासँग सत्तासाझेदारी चाहिरहेको छ । 

सुझावित समाचार