म्याग्दीको मालिका गाउँपालिका– ७ मा शनिबार दिउँसो धारिलो ढुंगा (छपनी) प्रहार गरेर एकजनाको हत्या भएको छ भने दुईजना घाइते भएका छन्।
छपनी प्रहार हुँदा मालिका– ७ बिमवाङकी ७० वर्षीया मनीषा गर्बुजाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए।
उनका अनुसार मनीषाकी सातवर्षीया नातिनी प्रियंका गर्बुजा र छिमेकी ६६ वर्षीया अमृता जुग्जाली घाइते भएका छन्। घटनास्थलमा पुगेका प्रनाउ कुँवरले हत्यामा संलग्न व्यक्तिको पहिचान र खोजी कार्य भइरहेको बताए।
मनीषालाई छपनी प्रहार गरेको देखेर बचाउन गएका प्रियंका र अमृतालाई चिर्पट प्रहार गरेर घाइते बनाई भागेकाे स्थानीयको भनाइ छ। घाइते दुवैलाई थप उपचारका लागि दरबाङबाट हेलिकोप्टरमा पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको प्रनाउ कुँवरले जानकारी दिए। उनका अनुसार दरबाङ प्राथमिक उपचार केन्द्रमा सामान्य उपचार गरी पोखरा पठाइएको हो।
प्रियंकाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। एकजना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रनाउ कुँवरले जानकारी दिए। घटनाको विस्तृत अध्ययन र अनुसन्धानका क्रममा रहेकाले पक्राउ परेका व्यक्तिको नाम गोप्य राखिएको उनले बताए।