पाथीभरामा संकलित सुन-चाँदी रिफाइन गर्न थालियो

शुक्रबार, २० पुष, २०८०
डिजिटल संस्करण

ताप्लेजुङको पाथीभरा मन्दिरमा तीर्थयात्रीहरूले चढाएका संकलित सुन तथा चाँदीलाई रिफाइन (गाल्न) गर्न थालिएको छ।

पाथीभरा क्षेत्र विकास समितिले शुक्रबार ९८ तोला सुन तथा ९२ किलो चाँदी रिफाइन गर्न थालिएको कार्यकारी निर्देशक प्रजिन हाङगामले बताए।

सुनलाई भने दुई दिनभित्रमा रिफाइन गरिसकिने र चाँदीलाई भने एक हप्ता लाग्ने निर्देशक हाङगामले बताए। कार्यकारी निर्देशक हाङगामले सुन ९८ तोला ४१ लाल र चाँदी ९२ किलो ६ सय ५० ग्राम रिफाइन गर्न थालिएको जानकारी दिए

८६ तोला ९० लाल रिफाइन गरिएका सुन समितिसँग  रहेको निर्देशक हाङगामले बताए। पाथीभरा सुनचाँदी कला व्यवसायी संघको संयोजनमा स्थानीय सुनचाँदी व्यवसायीमार्फत सुन तथा चाँदीलाई रिफाइन गर्न थालिएको अध्यक्ष रक्की थेबेले बताए।

रिफाइन गरिएका सुनचाँदीलाई समितिको निर्णयअनुसार प्रचलित दरमा बिक्रीका लागि प्रक्रिया अघि बढाइनेसमेत जानकारी दिए।

समितिले शम्भुप्रसाद गौतमको संयोजकत्वमा सुनचाँदी व्यवस्थापन उपसमिति गठन गरेको छ। संकलित सुनचाँदी समितिले प्रहरीको रोहवरमा लकरमा राख्ने र सरोकारवालाको उपस्थितिमा रिफाइन गर्ने गर्दै आएकोसमेत अध्यक्ष थेबेले बताए।

पाथीभरा मन्दिरबाट संकलित ६ हजार पाँच सय ३९.७७५ किलोग्राम तामा तथा १६ हजार ६ सय ३८.१०० किलोग्रामबराबर घन्टी भण्डारण भएको अवस्थामा रहेकोसमेत पाथीभरा क्षेत्र विकास समिति अध्यक्ष थेबेले बताए। 
 

सुझावित समाचार