बालकुमारीमा शुक्रबार भएको घटनामा भिड व्यवस्थापनको जिम्मेवारीमा प्रहरी चुकेको हो ?
प्रहरीले धेरै अप्रेसनल काम गरिरहेको हुन्छ, धेरै भिड व्यवस्थापन गर्छ, सफल र प्रभावकारी अप्रेसनको चर्चा हुँदैन । जब दुर्घटना हुन्छ, त्यसको हाइलाइट हुन्छ । बालकुमारीमा त्यस्तै भयो । भिड नियन्त्रण गर्दा न्यूनतम बल प्रयोग गर्नुपर्छ भन्ने सिद्धान्त छ । जति आवश्यक हो, त्यति मात्र बल प्रयोग हुनुपर्छ । दुई युवकको ज्यान जानेगरी जसरी बालकुमारीमा घटना भयो, यसमा केही न केही कमजोरी पक्कै भएको छ ।
छानबिनअघि नै प्रहरी अधिकारीलाई निलम्बन गर्नु ठीक हो ?
त्यो अवश्य पनि होइन । यसले भविष्यमा झनै समस्या बढ्न सक्छ । छानबिन गरेर मात्र निलम्बन तथा सरुवा जस्ता निर्णय गर्नुपथ्र्यो । यसरी एक्कासि सरुवा र निलम्बन गर्दा सम्बन्धित अधिकृतले धेरै क्षति भोग्छ । संगठनले पनि भोग्नुपर्ने हुन्छ । यस्तो प्रवृत्तिले भिड व्यवस्थापनमा खटिने अन्य अधिकृतले पनि परिस्थितिको फेस गर्न डराउने अवस्था आउन सक्छ । यसले संगठनलाई नै क्षति हुन्छ । कसको कमजोरी हो भनेर छानबिन नै नगरी निलम्बन गर्दा प्रहरी अधिकारीको मनोबल झन् कमजोर हुन्छ ।
भिड नियन्त्रणमा त्रुटि हुन नदिन प्रहरीले आगामी दिनमा के गर्नुपर्ला ?
प्रहरीलाई भिड नियन्त्रणसम्बन्धी तालिममा अझै जोड दिनु जरुरी छ । भिड व्यवस्थापनका सिद्धान्तमा प्रहरी अधिकृत अभ्यस्त भयो भने मात्र फिल्डमा आत्मविश्वास हुन्छ । त्यसका लागि स्रोत साधनमा पनि राज्यले ध्यान दिनु जरुरी छ । अकोतर्फ भिआइपीहरूको आवाजतावजमा पनि सुरक्षा ‘क्लियरेन्स’मा थप चनाखो हुनुपर्ने देखिएको छ ।